काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा मर्जर तथा प्राप्तिको लामो इतिहासमा ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था समेटेर बनेको बैंक देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजिनक गरेकाे तथ्यांकअनुसार ग्लोबल आइएमई बैंकले विभिन्न समयमा गरी २१ वटा बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जर तथा प्राप्ति प्रक्रियामार्फत आफ्नो संरचनामा समेटेको हाे।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाएर सबल र प्रतिस्पर्धी संस्था निर्माण गर्ने नीति अघि बढाएसँगै विगत डेढ दशकमा बैंकिङ क्षेत्रमा मर्जरको लहर चलेको थियो । सोही क्रममा ग्लोबल आइएमई बैंकले सबैभन्दा आक्रामक रूपमा मर्जर तथा प्राप्तिको रणनीति अपनाएको देखिन्छ।
तथ्यांकअनुसार ग्लोबल आइएमई बैंकमा तत्कालिन ग्लाेबल बैंकसहित ५ वटा बाणिज्य बैंक मर्जर भएका थिए । बैंकमा त्रिवेणी विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट बैंक, जनता बैंक नेपाल, सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक, नेपाल आवास फाइनान्स, ग्लोबल बैंक, आइएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, सोसल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, कमर्ज एन्ड ट्रस्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल कन्जुमर डेभलपमेन्ट बैंक, ह्याथवे फाइनान्स कम्पनी, लुम्बिनी बैंक, नवदुर्गा फाइनान्स र बैंक अफ काठमाडौं समेटिएका छन्।
यी संस्थामध्ये वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी तीनै प्रकृतिका संस्था रहेका छन्। पछिल्लो समय बैंक अफ काठमाडौंसँगको मर्जरले ग्लोबल आइएमई बैंकलाई सम्पत्तिको आकार, शाखा सञ्जाल र ग्राहक आधारका हिसाबले पनि देशकै ठूला बैंकमध्ये एक बनाएको थियो।
कुमारी बैंक दोस्रो स्थानमा
मर्जरको इतिहास हेर्दा कुमारी बैंक पनि धेरै संस्था गाभ्ने बैंकमध्ये अगाडि देखिन्छ। विवरणअनुसार कुमारी बैंकले आफ्नो इतिहासमा २० वटा अन्य बैंक तथा वित्तीय संस्थालाई समेटेको छ। बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, शिखर फाइनान्स, महाकाली विकास बैंक, काक्रेभिहार विकास बैंक, पश्चिमाञ्चल फाइनान्स, एनडीईपी डेभलपमेन्ट बैंक, राइजिङ डेभलपमेन्ट बैंक, साझा विकास बैंक, युनियन फाइनान्स, वेस्टर्न डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, स्वस्तिक मर्चेन्ट फाइनान्स, अन्नपूर्ण डेभलपमेन्ट बैंक, सूर्यदर्शन फाइनान्स, रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक, एपीआई फाइनान्स, इन्टरनेसनल डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक समेटिएका छन्।
विशेषगरी नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँगको मर्जरपछि कुमारी बैंकको संरचना र व्यवसायिक आकारमा ठूलो परिवर्तन आएको थियो। नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा बाणिज्य बैंकहरुबिच ‘विग मर्जर’ को नीति लिएपछि कुमारी र कमर्ज एण्ड ट्रस्ट एक आपसमा मर्जर भएका हुन् ।
प्रभु बैंकले समेट्यो १५ संस्था
मर्जरको दौडमा प्रभु बैंक पनि अगाडि देखिन्छ। प्रभु बैंकको वर्तमान स्वरूप निर्माणमा १५ वटा बैंक तथा वित्तीय संस्था जोडिएका छन्। प्रभु बैंकमा प्रभु फाइनान्स, समृद्धि विकास बैंक, वैभव फाइनान्स, किस्ट बैंक, गौरीशंकर विकास बैंक, जेनिथ फाइनान्स, ग्रान्ड बैंक नेपाल, अर्निको डेभलपमेन्ट बैंक, सूर्य डेभलपमेन्ट बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्सियल बैंक, सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, पाटन फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स समेटिएका छन्।
प्रभु बैंकले किस्ट बैंक, ग्रान्ड बैंक नेपाल र सेन्चुरी कमर्सियल बैंकजस्ता वाणिज्य बैंकलाई समेत गाभेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा १२ संस्था
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि मर्जरको लामो श्रृंखलाबाट बनेको बैंक हो। बैंकको वर्तमान संरचनामा १२ वटा बैंक तथा वित्तीय संस्था जोडिएका छन्। यसमा विश्व विकास बैंक, फेवा फाइनान्स, गण्डकी विकास बैंक, मेगा बैंक नेपाल, पश्चिमाञ्चल विकास बैंक, टुरिजम डेभलपमेन्ट बैंक, मातृभूमि विकास बैंक, कालिन्चोक डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स समेटिएका छन्।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको मर्जर बैंकिङ क्षेत्रकै ठूला मर्जरमध्ये एक मानिन्छ।
एनएमबीले १०, सिटिजन्सले ८ संस्था समेटे
एनएमबी बैंकले पनि आफ्नो विस्तारका क्रममा १० वटा बैंक तथा वित्तीय संस्था समेटेको देखिन्छ। यसमा प्रुडेन्सियल फाइनान्स, गोरखा फाइनान्स, पाथीभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, सिटी डेभलपमेन्ट बैंक, ओम फाइनान्स, मनास्लु विकास बैंक र कञ्चन डेभलपमेन्ट बैंक लगायत छन्। त्यस्तै सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सलाई समेट्दै आफ्नो वर्तमान स्वरूप बनाएको हो।
हिमालयनदेखि लक्ष्मी सनराइजसम्मको मर्जर यात्रा
हिमालयन बैंकमा पशुपति डेभलपमेन्ट बैंक, उधम विकास बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, सिभिल बैंक, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स, युनिक फाइनान्स र हामा मर्चेन्ट एन्ड फाइनान्स समेटिएका छन्। बाणिज्य बैंकहरुको विग मर्जरको क्रममा सिभिल बैंकसँग मर्जर भएपछि भने हिमालयन बैंक खराब कर्जाले थिचिएको छ ।
त्यस्तै लक्ष्मी सनराइज बैंकको वर्तमान स्वरूप निर्माणमा नारायणी फाइनान्स, नेसनल फाइनान्स, सनराइज बैंक, एनआईडीसी क्यापिटल मार्केट, दियालो विकास बैंक, प्रोफेसनल डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक र हिसेफ फाइनान्स जोडिएका छन्। लक्ष्मी बैंक र सनराइज बैंकबीचको मर्जरले नेपालको वाणिज्य बैंक क्षेत्रमा अर्को ठूलो बैंक निर्माण गरेको थियो।
नबिलले एनबी बैंकदेखि अन्य वित्तीय संस्था समेट्यो
नबिल बैंकले पनि आफ्नो विस्तारका क्रममा नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स र युनाइटेड फाइनान्सलाई समेटेको छ। नेपाल बंगलादेश बैंकसँगको मर्जर नबिल बैंकको इतिहासमा महत्वपूर्ण मोड बनेको थियो।
त्यस्तै प्राइम कमर्सियल बैंकमा विराटलक्ष्मी विकास बैंक, खाँदबारी डेभलपमेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, काँकाई विकास बैंक, कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स समेटिएका छन्।
सिद्धार्थ बैंकमा बिजनेस डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्स समेटिएका छन् भने एनआईसी एसिया बैंक एनआईसी बैंक र बैंक अफ एसिया नेपालको मर्जरबाट बनेको हो। सानिमा बैंकमा बागमती डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंकमा एनआईडीसी डेभलपमेन्ट बैंक तथा माछापुच्छ्रे बैंकमा स्ट्यान्डर्ड फाइनान्स समेटिएको छ।
मर्जरले फेरियो नेपालको बैंकिङ नक्सा
एक समय नेपालमा ठूलो संख्यामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सञ्चालनमा थिए। तर, पुँजीकोष मजबुत बनाउने, सञ्चालन खर्च घटाउने, शाखा सञ्जाल विस्तार गर्ने र प्रतिस्पर्धी वित्तीय संस्था निर्माण गर्ने उद्देश्यले मर्जर तथा प्राप्तिको नीति अघि बढाइयो। यस प्रक्रियामा कतिपय साना वित्तीय संस्था ठूला बैंकमा विलय भए भने कतिपय विकास बैंक र फाइनान्स कम्पनीहरू समेत वाणिज्य बैंकको संरचनामा समेटिए।
यसरी हेर्दा नेपालको बैंकिङ क्षेत्रमा मर्जर केवल दुई बैंकबीचको एकपटकको सम्झौता मात्र नभई वर्षौंदेखि चलिरहेको संस्थागत एकीकरणको प्रक्रिया बनेको छ। र, उपलब्ध तथ्यांकअनुसार यही प्रक्रियामा सबैभन्दा धेरै संस्थालाई आफ्नो संरचनामा समेट्ने बैंकका रूपमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा देखिएको छ।
कुन बैंकले कति संस्था समेटे ?
| बैंक | समेटिएका अन्य बैंक/वित्तीय संस्था |
|---|---|
| ग्लोबल आइएमई बैंक | २१ |
| कुमारी बैंक | २० |
| प्रभु बैंक | १५ |
| नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | १२ |
| एनएमबी बैंक | ९ |
| सिटिजन्स बैंक इन्टरनेसनल | ८ |
| हिमालयन बैंक | ७ |
| लक्ष्मी सनराइज बैंक | ७ |
| प्राइम कमर्सियल बैंक | ७ |
| नबिल बैंक | ४ |
| सिद्धार्थ बैंक | २ |
| एनआईसी एसिया बैंक | २ |
| माछापुच्छ्रे बैंक | १ |
| सानिमा बैंक | १ |
| राष्ट्रिय वाणिज्य बैंक | १ |
प्रतिक्रिया