काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढी तथा पहिरोबाट प्रभावित सहकारी संघ/संस्थाको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि सहयोग उपलब्ध गराउने भएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढी तथा पहिरोका कारण प्रभावित भई सेवा सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत व्यवस्थापनमा कठिनाइ भोगिरहेका सहकारी संघ÷संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग उपलब्ध गराउन लागेको हो ।
बैंकले विपद्बाट तोकिएको मापदण्ड पूरा गर्ने सहकारी संघ÷संस्थाबाट आवेदन माग गरेको छ । बाढी तथा पहिरोका कारण अभिलेख, कार्यालय सामग्री, प्राविधिक उपकरण वा भौतिक संरचनामा क्षति पुगेका र सम्बन्धित निकायमा विधिवत् दर्ता भई सञ्चालनमा रहेका सहकारीले आवेदन दिन सक्नेछन् । बैंकका अनुसार बैंकसँग आबद्ध वा गैर–आबद्ध दुवै सहकारी संघ/संस्थाले आवेदन दिन पाउनेछन् ।
कम्प्युटर, प्रिन्टरलगायत सामग्रीमा सहयोग
सहकारी संस्थाको क्षतिको प्रकृति र मूल्यांकनका आधारमा सेवा पुनःसञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टर तथा अन्य कार्यालय सामग्री उपलब्ध गराइने बैंकले जनाएको छ । एक संस्थालाई अधिकतम ८० हजार रुपैयाँ बराबरको सामग्री सहयोग उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ । प्राप्त आवेदनको मूल्यांकनपछि मापदण्डका आधारमा स्वीकृत संघ/संस्थालाई सहयोग उपलब्ध गराइनेछ ।
सहयोग प्राप्त गर्न सहकारी संस्थाले बैंकले तोकेको ढाँचामा निवेदन, स्थानीय तह वा जिल्ला÷विषयगत सहकारी संघबाट प्राप्त क्षति प्रमाणीकरण वा सिफारिसपत्र तथा दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । बैंकले सम्बन्धित जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंकको शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सकिने जनाएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकले विपद्का कारण सहकारी संस्थाको सेवा प्रवाहमा परेको अवरोध हटाउन तथा अभिलेख र संस्थागत संरचना पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले राहत कार्यक्रम अघि बढाएको जनाएको छ । बैंक सञ्चालक समितिले यसका लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्रतिक्रिया