काठमाडौँ । बाणिज्य बैंकहरुले एक खर्ब बराबरको ऋणपत्रमा २ दशमलव ६ गुणाले बढी हुने गरी बोलकबोल गरेका छन्। तरलता बढी भएपछि केन्द्रिय बैंकले पुस पहिलो साताबाट ऋणपत्रबाट समेत रकम उठाउन लागेको छ । राष्ट्र बैंकले २ खर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने निर्णय गरी हालसम्म एक खर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ ।
पुस १४ देखि २२ गतेसम्म २५/२५ अर्ब रुपैयाँको चार पटक जारी गरेको ऋणपत्रमा बैंकहरुले मागभन्दा २ दशमलव ६ गुणा बढी अर्थात २ खर्ब ६२ अर्ब ५५ करोड रुपैयाँको लागि बोलकबोल गरेको छन् ।
कोभिड–१९ को पछिको खुकुलो मौद्रिक नीतिले बजारमा रकम अभाव देखाएपछि केन्द्रिय बैंकले कसिलो मौद्रिक नीति जारी गरेको थियो । कसिलो मौद्रिक नीतिले बजारमा कडाइ गरेपछि कर्जा प्रवाह सुस्त भई अधिक तरलता देखिदै आएको छ ।
त्यस्तै तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले निक्षेप संकलन बोलकबोल र स्थायी तरलता सुविधा दिएर बजारबाट तरलता खिचिरहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबार बैंकहरुको निक्षेप संकलन बोलकबोलमा ४ खर्ब ९६ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामा २ खर्ब ९९ अर्ब ५० करोड लगानीमा छ । यसमध्ये निक्षेप संकलन उपकरण १७५ दिन तथा स्थायी तरलता सुविधा २ दिन अवधिका लागि हो ।
निक्षेप संकलन र स्थायी निक्षेप सुविधा उपकरणबाट मात्र बजारमा अधिक तरलताको समस्या समाधान नभएपछि राष्ट्र बैंकले ऋणपत्र समेत जारी गरेको थियो ।
प्रतिक्रिया