काठमाडौ । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझा प्राधिकरण फर्कने बाटो बन्द भएको छ । सर्वोच्च अदालतले सरकारको निर्णयलाई नै सदर गरेपछि उनी प्राधिकरण फर्कने बाटो बन्द भएको हो ।
सरकारले ओझालाई कार्यअनुभव नपुगेको भनी बर्खास्त गरेको थियो । बर्खास्तमा परेपछि ओझा सर्वोच्च अदालत गएका थिए । यसअघि सर्वोच्चले सरकारले गरेको पदमुक्तीको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
तर न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले २३ भदौमा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नपर्ने भनी निर्णय गरेको छ ।
ओझाको पाँच वर्ष उच्च व्यवस्थापकीय काममा अनुभव नभएको भनी सरकारले गत ३० असारमा जाँचबुझ समिति गठन गरेको थियो । त्यो समितिले समेत ओझालाई स्पष्टीकरणको मौका दिएर पाँच वर्षको व्यवस्थापकीय अनुभव नदेखिएको भन्ने आधारमा पदमुक्तको सिफारिस गरेको थियो, त्यही आधारमा तत्कालीन केपी शर्मा ओली सरकारले उनलाई हटाएको हो ।
प्रतिक्रिया