काठमाडौं । नेपालका ठूला औद्योगिक घरानामध्ये एक शंकर ग्रुपमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अघि बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूको अर्बौं लगानी जोखिमको घेरामा परेको संकेत देखिएको छ । विभिन्न क्रेडिट रेटिङ एजेन्सीहरूको प्रतिवेदनले समूहअन्तर्गतका कम्पनीहरूमा बैंकहरूले करिब ७८ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको देखाउँछ ।
हालसम्म ऋण भुक्तानी नियमित रहेको छ । तर, पनि समूहका शीर्ष नेतृत्व नै अनुसन्धानको घेरामा परेपछि बैंकिङ क्षेत्रभित्र भने चिन्ता बढेको छ । अध्यक्ष शंकरलाल अग्रवाल र उपाध्यक्ष सुलभ अग्रवाल लाई पक्राउ गरी अनुसन्धान अघि बढाइएसँगै कर्जा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको सिफारिसमा प्रहरीले इन्फिनिटी समूहका दीपक भट्ट सहित शंकर समूहका उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिएको थियो। अध्यक्ष अग्रवाललाई रिहा गरिए पनि अन्यमाथि अनुसन्धान जारी छ । शंकरका अर्का छोरा साहिल पनि सम्पत्ति शुद्धीकरण मुद्दामा तानिन सक्ने अनुमान गरिएको छ ।
बैंकरहरुका अनुसार ठूलो कर्जा प्रवाह गर्दा कम्पनीको वित्तीय अवस्था मात्र होइन, नेतृत्वको प्रतिष्ठालाई पनि महत्वपूर्ण मानिन्छ । जब कम्पनीका मुख्य व्यक्ति नै गम्भीर प्रकृतिको मुद्दामा मुछिनु भनेको लगानीका लागि प्रारम्भिक चेतावनीका रुपमा लिनुपर्ने उनीहरुको बुझाइ छ ।
शंकर ग्रुपअन्तर्गत स्टिल, सिमेन्ट, फलाम, अटोमोबाइल र पर्यटन क्षेत्रमा दर्जनौं कम्पनी सञ्चालनमा छन् । तीमध्ये सबैभन्दा ठूलो कर्जा बोकेको कम्पनी जगदम्बा स्टिल हो। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स का अनुसार यस कम्पनीमा मात्रै ३३ अर्ब १५ करोड रुपैयाँ कर्जा छ । यस बाहेक सौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट, हिल्टन होटल, जगदम्बा मोटर्सलगायतका कम्पनीहरुमा बैंकहरुको ठूलो लगानी रहेको छ ।
नेपाल राष्ट्र बैंक ले २०७६/७७ को मौद्रिक नीतिमार्फत ५० करोड रुपैयाँभन्दा माथिका कर्जामा अनिवार्य क्रेडिट रेटिङको व्यवस्था लागू गरेको थियो। तर, यस्तो व्यवस्था हुँदाहुँदै पनि बैंकहरुले ठूलो व्यवसायिक घरानामा केन्द्रित ऋणले प्रणालीगत जोखिम बढाएको देखिन्छ ।
प्रतिक्रिया