काठमाडौ । नेपाल बीमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स प्रमूख कार्यकारी सहित पाँच जना उच्च व्यवस्थापकलाई स्पष्टीकरण सोधेको छ । कम्पनी संचालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा प्राधिकरणले सिइओ उपसना पौडेल, डेपूटी सीईओ मुकेश कुमार कपुर र कार्यकारी निर्देशकहरु मनिश कुमार, शिशिर गैह्रे र सन्तोश केसीलाई सात दिने स्पष्टकरण सोधेको नेपाल बीमा प्राधिकरणकी प्रबक्ता पुजन ढुंगेल अधिकारीले जानकारी दिइन् ।
प्राधिकरणका कार्यकारी निर्देशक शुशिलदेव पन्तका अनुसार बीमा ऐन २०७९ मा व्यवस्था भएअनुसार सात दिनको स्पष्टीकरण सोधेको हो । पन्तका अनुसार कम्पनीबाट स्पष्टीकरण प्राप्त भएपछि कारवाही गर्ने वा नगर्ने भन्ने विषयमा नेपाल बीमा प्राधिकरणले आवश्यक निर्णय लिनेछ ।
गत फागुन २८ गते सम्पत्ति शुद्धीकरण विभागले प्राधिकरणलाई पत्र लेखी नेपाल पुनर्बिमा कम्पनी लगायतका विभिन्न कम्पनीहरूको सेयर खरिद गर्नका लागि हिमालयन रि–इन्स्योरेन्स र यससँग आबद्ध अन्य संस्थाहरूको ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा बराबरको रकम दुरुपयोग गरेको विषयमा आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न पत्रचार गरेको थियो ।
विभागको पत्रमा उल्लेख भएअनुसार दिपक भट्टले हिमालयन रि–इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६०, हिमालयन सेक्युरिटिजबाट २ करोड २१ लाख ९७ हजार १४४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीबाट ३७ करोड र हिमालयन लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ पनि अपचलन गरेको उल्लेख छ । यहि, आधारमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्समाथि अनुसन्धान गर्दा संकास्पद देखिएपछि स्पष्टिकरण सोधिएको हो ।
प्रतिक्रिया