वि.सं. २०८३ बैशाख ३०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेफ्स्कुन र सहकारी बैंक मर्ज हुदै

नेफ्स्कुन र सहकारी बैंक मर्ज हुदै
Author
अर्थटुडे
२०८३ बैशाख २२, मंगलवार

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले गर्दै आएको वित्तीय कारोबारलाई राष्ट्रिय सहकारी बैंकमा मर्जर गर्ने तयारी अघि बढाएको छ । सरकारले बचत तथा ऋण सहकारीका संघहरुलाई वित्तीय कारोबार गर्न नदिने भएपछि नेफ्स्कूनले गर्दै आएको कारोबार बैंकमा मर्जर गर्न खोजेको हो ।

सरकारको नीति र संस्थाको वित्तीय अवस्था समेत कमजोर हुँदै गएपछि पछिल्लो समय नेफ्स्कूनको वासलातको आकर घट्दै गएको छ । शाखा तथा काउन्टर नै खोलेर बैंकिङ कारोबार गर्दै आएको संघले क्रमश यसलाई घटाउदै लगेको छ ।

अध्यादेशअघि नै सुरु भएको थियो तयारी

गत बिहीबार सरकारले अध्यादेशमार्फत सहकारी ऐन–२०७४ संशोधन गर्दै संघहरुलाई वित्तीय कारोबार रोक लगाएको छ । अध्यादेशमार्फ ऐनको दफा ५० मा थप भनेको उपदफा ९ थप भनिएको छ, ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन् । तर, यो उपदफा प्रारम्भ हुँदाका बखत बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संहरूले यो उपदफा प्रारम्भ भएको मितिले तीन वर्षभित्र उक्त कारोबार बन्द गर्नु पर्नेछ ।’

नेपाल राष्ट्र बैंकले २०८१ पुसमा र त्यसको एक वर्षपछि २०८२ मंसिरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डमा संघहरुलाई वित्तीय कारोबारमा घुमाउरो ढंगले गर्न रोक लगाएको छ । दुवै मापदण्डमा संस्थाहरुले संघमा शेयर लगानी गर्न नपाउने तथा संघमा बचत गरेको रकम तरलतामा गणना नहुने व्यवस्था राखी संघहरुको कारोबारलाई गैरकानुनी बनाएको थियो ।

आफुहरुले गरिरहेको वित्तीय कारोबारलाई सरकारले अनुमति नदिने संकेत पाएपछि नेफ्स्कूनले बैंकसँग कारोबार मर्जरको तयारी अगाडी बढाएको थियो ।

स्रोतका अनुसार नेफ्स्कूनको सञ्चालक समितिले यसका लागि समन्वयनको जिम्मेवारी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई दिएको छ । त्यसपछि नेफ्स्कूनले सहकार्यका लागि प्रस्ताव गर्दै बैंकमा पत्र पनि पठाएका छन् ।

गत बैशाख १५ गते नेफ्स्कूनका अध्यक्ष, महासचिव र सिइओसँग बैंकका अध्यक्ष तथा सिइओबीच यसबारे छलफल समेत भएको छ । नेफ्स्कून महासचिव घनश्याम अधिकारीले बैशाख १६ गते सामाजिक सञ्जालबाट यसबारेमा जानकारी समेत दिएका छन् ।

‘राष्ट्रिय सहकारी महासंघ लि.नेपाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि(नेफ्स्कून),राष्ट्रिय सहकारी बैंक लि.का उच्च नेतृत्व एवं व्यवस्थापन प्रमुख हरु बिच झापाको बिर्तामोडमा संयुक्त छलफल एवं भेटघाट भयो ।

तीन वटै पक्ष विच छलफलमा संस्थागत विकास, कानुनी एवं नितिगत क्षेत्रहरु, संरचनागत प्रभावहरु,पहसपैरवीका सवालहरु एवं अभियानको सुदृढीकरणका साझा सवालहरु र सहकार्यका बारेमा परामर्श भयो ।’ उनले फेसबुकमा लेखेका छन् ।

स्रोतका अनुसार नेफ्स्कूनले गर्दै आएको वित्तीय कारोबार बैंकमा मर्ज गर्ने र बैंकले गरिरहेको स्तरिकरण तथा शिक्षा तालिमको कार्यक्रम नेफ्स्कूनमार्फत गर्ने गरी छलफल अघि बढिरहेको छ । बैंकको सञ्चालक समितिले समेत सहकार्यका लागि आवश्यक छलफल गर्ने निर्णय भने गरिसकेको छ ।

तर, जेठ ९ गते बैंकको निर्वाचन घोषणा भएकाले त्यसअघि यो विषय अघि बढ्ने सम्भावना भने छैन । प्रारम्भिक छलफलमा भने नेफ्स्कूनको वित्तीय अवस्था मूल्यांकन नगरी अघि बढ्न नसकिने अवस्था रहेको भन्दै सञ्चालकहरुले जोड दिएका थिए ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

Author
अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

छुटाउनुभयो कि ?