काठमाडौं । स्मार्ट टेलिकमको सम्पती लिलामी प्रकरणमा सरकारले अनुसन्धान अघघि बढाएपछि सम्पती सकार गर्ने एनसेल प्रक्रियाबाट बाहिरिएको छ । कम्पनीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पत्राचार गरी रकम फिर्ता माग गरेको जनाएको छ ।
लिलामी प्रक्रियामा खरीद गरेको स्मार्ट टेलिकमको सम्पत्तिको स्वामित्व हस्तान्तरण हुन नसकेपछि एनसेलले वैशाख २९ गते एनआईएमबीलाई बुझाएको उक्त रकम फिर्ता मागेको स्रोतले जानकारी दिएको छ । तर, अहिलेसम्म यसबारे बैंकले कुनै निर्णय भने गरेको छैन ।
नेपाल इन्भेस्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंकको सहवित्तीयकरणमा कर्जा प्रवाह भएको स्मार्ट टेलिकमको कर्जा असुलीका लागि बैंकले गत वर्ष असोजमा सम्पति बिक्रीमा लागि सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सुचना अनसार एनसेलले सबैभन्दा बढी रकम कबोल गरेपछि बोलपत्र स्वीकृत भएको थियो ।
बैंकबाट स्वीकृति पाएलगत्तै एनसेलले तुरुन्तै दूरसञ्चार प्राधिकरणलाई जानकारी दिएपनि प्राधिकरणले ‘लिलाम सकार भएको सम्पत्ति हस्तान्तरण गर्ने कार्य कानुनसम्मत नभएको’ भन्दै स्वीकृति दिन अस्वीकार गरेको हो ।
यो प्रकरणमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवीले अनुसन्धान गरिरहेको छ । यसका लागि सीआईबीले बैंकका प्रमुख कार्यकारी ज्योति प्रकाश पाण्डे, स्मार्ट सेलका अध्यक्ष सर्वेश श्रेष्ठ, नरेन्द्र उलक, पलिना श्रेष्ठसहित तीन जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
समस्याग्रस्त अवस्थामा पुगेको स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन, कर्जा असुली र दूरसञ्चार पूर्वाधारको स्वामित्व हस्तान्तरणमा स्पष्ट कानुनी मापदण्डको अभाव देखिएको विश्लेषण गरिएको छ । बैंकहरूले धितो सुरक्षणका रूपमा राखिएका दूरसञ्चार उपकरण बिक्री गर्दा नियामक स्वीकृति आवश्यक हुने विषयमा पर्याप्त स्पष्टता नहुँदा विवाद उत्पन्न भएको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया