वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकमा अध्यक्षको ‘सेमिफाइनल’ : शर्मा कि पौड्याल ?

सहकारी बैंकमा अध्यक्षको ‘सेमिफाइनल’ : शर्मा कि पौड्याल ?
अर्थटुडे
२०८३ जेष्ठ १, शुक्रबार

काठमाडौं । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेसँगै बागमती प्रदेश सञ्चालक पदमा रामशरण शर्मा घिमिरे र परितोष पौड्यालबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार उम्मेदवारी फिर्ताको अन्तिम समयसम्म दुवैले आफ्नो उम्मेदवारी कायम राखेपछि सहकारी बैंकको भावी नेतृत्वका लागि निर्णायक भिडन्त तय भएको हो ।

नेतृत्व चयनका लागि जेठ ९ गते निर्वाचन हुदैछ ।

बागमती प्रदेशबाट उम्मेदवारी दिएका रामहरी शर्मा तिमल्सिना, ध्रुवराज विष्ट र बद्रीप्रसाद संजेलले भने अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका छन् । यससँगै चुनाव शर्मा र पौड्यालबीच सीमित भएको छ ।

सहकारी बैंकमा प्रत्येक प्रदेशबाट एक जना सञ्चालक चयन हुने र सात प्रदेशबाट निर्वाचित सञ्चालकमध्येबाट अध्यक्ष चयन हुने व्यवस्था छ । त्यसैले बागमती प्रदेशको निर्वाचनलाई बैंकको भावी अध्यक्षको ‘सेमिफाइनल’ का रूपमा हेरिएको छ ।

शर्मा वागमती प्रदेश सहकारी संघको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा छन् । उनी बैंकका पूर्व सञ्चालक समेत भएकाले अनुभव, संस्थागत सम्बन्ध र ‘सन्तुलित नेतृत्व’ लाई मुख्य एजेण्डा बनाएर अघि बढिरहेका छन् । सहकारी वृत्तमा उनले आफूलाई सबै पक्षलाई मिलाएर लैजान सक्ने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

यता परितोष पौड्याल भने काठमाडौंको स्वयम्भूस्थित नरपानी देवनगर बचत तथा ऋण सहकारीको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । हाल राष्ट्रिय सहकारी महासंघका सञ्चालक रहेका पौड्यालले आफूलाई नेकपा एमालेकाे ‘आधिकारिक’ र राष्ट्रिय नेटवर्क भएको उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् ।

पौड्याल यसअघि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)  को नेतृत्वका लागि चन्द्रप्रसाद ढकालसँग प्रतिस्पर्धामा उत्रिएका थिए । दोस्रो कार्यकालका लागि भएको उक्त निर्वाचनमा पराजित भएपछि उनी महासंघको सञ्चालक बनेका थिए ।

हाम्रो एकीकृत साकोसको प्रतिनिधि बनेर नेफस्कुनको अध्यक्ष बनेका पाैडेल राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा समेत प्रतिष्पर्धामा असफल भएका थिए । राष्ट्रिय सहकारी महासंघको निर्वाचनका लागि उनी तनहुको एक जिल्लास्तरीय संघको प्रतिनिधि भएर आएका थिए ।

सहकारी अभियानभित्र सक्रिय राजनीतिक र संगठनात्मक समीकरणका कारण पनि यो निर्वाचनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैंकको आगामी नेतृत्व कसले सम्हाल्छ भन्ने संकेत बागमतीको परिणामले दिने भएकाले दुवै पक्षले तीव्र लबिङ र मत व्यवस्थापन गरिरहेका छन् ।

यसअघि कोशीबाट लक्ष्मीप्रसाद उप्रेती, मधेशबाट मन्दिरा आचार्य, गण्डकीबाट कमलादेवी गिरी, लुम्बिनीबाट विष्णुप्रसाद बराल र कर्णालीबाट कालीप्रसाद महतरा निर्विरोध चयन भइसकेका छन् । सुदूरपश्चिममा मनमोहन विष्ट सर्वसम्मत भएका छन् ।

अब सम्पूर्ण ध्यान बागमती प्रदेशको निर्वाचनमा केन्द्रित भएको छ । बैंकभित्रको शक्ति सन्तुलन, सहकारी अभियानको आन्तरिक ध्रुवीकरण र भावी अध्यक्षको समीकरण तय गर्ने ‘निर्णायक युद्ध’ का रूपमा यसलाई हेरिएको छ ।

सहकारी बैंकमा प्रत्येक प्रदेशबाट एक जना गरी ७ जना सञ्चालक चयन हुने र त्यसमध्येबाट अध्यक्षको छनोट हुने प्रावधान छ । यस्तै २ जना विज्ञ सञ्चालकको भने नयाँ सञ्चालक समितिले नै चयन गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?