वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय सहकारी बैंकले माग्यो विज्ञ सञ्चालक, बैंकिङ तथा सहकारी विज्ञलाई आवेदन आह्वान

राष्ट्रिय सहकारी बैंकले माग्यो विज्ञ सञ्चालक, बैंकिङ तथा सहकारी विज्ञलाई आवेदन आह्वान
अर्थटुडे
२०८३ असार ११, बिहीबार

काठमाडौं । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकले सञ्चालक समितिमा विज्ञ सञ्चालक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै एक जना महिला र एक जना खुला गरी दुई जना विज्ञ सञ्चालक पदका लागि आवेदन माग गरेको हो ।

सहकारी बैंकको विनियम विनियममा ९ सदस्यीय सञ्चालक समितिमा ७ जना निर्वाचनबाट र २ जना विज्ञबाट छनोट गर्नुपर्ने प्रावधान छ । जसअनुसार गत जेठमा निर्वाचन गरी बैंकले ७ जना सञ्चालन छनोट गरिसकेको छ ।

यस्तै सञ्चालकहरुमध्येबाट लक्ष्मीप्रसाद उप्रेतीलाई अध्यक्षमा चयन गरेको छ । बाँकी रहेको २ जना विज्ञ सञ्चालकका लागि बैंकले सार्वजनिक सुचनामार्फत आवेदन मागेको हो । बैंकको सूचनाअनुसार विज्ञ सञ्चालक पदका लागि बैंकिङ तथा सहकारी क्षेत्रमा उच्च शैक्षिक योग्यता, पर्याप्त अनुभव र सम्बन्धित विषयमा ज्ञान भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

विज्ञ सञ्चालकका लागि उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, अनुभव, तालिम तथा कार्यसम्बन्धी विवरणसहितको बायोडाटा पेस गर्नुपर्नेछ । साथै बैंकले तोकेको ढाँचामा १ हजार शब्द ननाघ्ने गरी अवधारणा पत्र समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

बैंकिङ विज्ञका लागि अवधारणा पत्रमा राष्ट्रिय सहकारी बैंकको दीर्घकालीन विकासका लागि रणनीतिक योजना, सुशासन, जोखिम व्यवस्थापन तथा दिगोपनाका विषयमा बैंकको क्ध्इत् विश्लेषणसहित व्यावसायिक मोडालिटी प्रस्तुत गर्नुपर्नेछ।

त्यस्तै सहकारी विज्ञका लागि राष्ट्रिय सहकारी बैंकको दीर्घकालीन विकासका लागि रणनीतिक अवधारणा, सुशासन, जोखिम व्यवस्थापन र दिगोपनाका विषयमा क्ध्इत् विश्लेषणसहित योजना पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

उम्मेदवार छनोट गर्दा योग्यता, अनुभव, अवधारणा पत्र तथा तालिमलगायतका आधारमा मूल्यांकन गरिने बैंकले जनाएको छ । राष्ट्रिय सहकारी बैंक सहकारी क्षेत्रको एक मात्र बैंकिङ संस्था हो, जसले देशभरका सहकारी संघसंस्थालाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या, सुशासन, जोखिम व्यवस्थापन र संस्थागत सुदृढीकरणका चुनौतीबीच विज्ञ सञ्चालक नियुक्तिको प्रक्रियालाई महत्वका साथ हेरिएको छ ।

यस्तो छ न्यूनतम योग्यता

बैंकिङ विज्ञका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा स्नातक वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । त्यस्तै चार्टर्ड एकाउन्टेन्सी (सीए) उत्तीर्ण गरी बैंकिङ क्षेत्रको व्यवस्थापन तहमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

त्यस्तै सहकारी विज्ञका लागि सम्बन्धित विषयमा स्नातक वा सो सरहको योग्यता हासिल गरी बैंक तथा वित्तीय संस्था वा सम्बन्धित सहकारी क्षेत्रमा संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा, अथवा नेपाल सरकारको कम्तीमा अधिकृत वा सोभन्दा माथिल्लो तहमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।

केही अवस्थामा स्वतः अयोग्य हुने छनोट प्रक्रियामा कानुनी तथा नैतिक इमानदारी र नियामकीय अनुपालनसम्बन्धी सूचकमा कुनै पनि बुँदामा शून्य अंक आए उम्मेदवार स्वतः अयोग्य हुने व्यवस्था गरिएको छ ।

त्यस्तै विज्ञ सञ्चालक नियुक्त भएपछि ७ दिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाको सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्य वा कर्मचारी भए राजीनामा स्वीकृत गरिसक्नुपर्नेछ । बैंकको २२औँ वार्षिक साधारणसभाका संस्थाको प्रतिनिधि वा प्रतिनिधिको परिवारका सदस्य विज्ञ सञ्चालकमा नियुक्त हुन नसक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?