काठमाडौं। नबिल बैंक लिमिटेडले दिगो बैंकिङ अभियानको पाँचौँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको साताव्यापी ‘नबिल ग्रिन विक–२०२६’ आइतबार काठमाडौंको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेर सम्पन्न गरेको छ।
बैंकका अनुसार असार १५ गतेदेखि सुरु भएको ‘ग्रिन विक’ अन्तर्गत वातावरण संरक्षण, दिगो विकास र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। वृक्षारोपण कार्यक्रम नबिल बैंक र लुम्बिनी वल्र्ड पिस फोरम नेपालको सहकार्यमा सम्पन्न भएको हो भने बिरुवाको संरक्षण टोखा नगरपालिका–२ वडा कार्यालयले गर्नेछ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली, बैंकका कर्मचारी, स्थानीयवासी तथा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो।
सिइओ ज्ञवालीले दिगो बैंकिङप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले वृक्षारोपण गरिएको बताउँदै वातावरण संरक्षणमा स्थानीय सरकार, साझेदार संस्था र समुदायसँगको सहकार्यलाई बैंकले निरन्तरता दिने बताए। उनका अनुसार बिरुवा रोप्नु मात्र पर्याप्त नहुने भएकाले यसको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक हुन्छ।
नबिल बैंकले आफ्नो दिगो बैंकिङ अभियानलाई ‘मानिस, पृथ्वी र समृद्धि’ को अवधारणामा आधारित बनाएको जनाएको छ। बैंकले सञ्चालन गरेको ‘नबिल दिगो बचत खाता’ मार्फत ग्राहकलाई दिगो विकासका गतिविधिसँग जोड्ने प्रयास भइरहेको बैंकको भनाइ छ।
बैंकका अनुसार पछिल्लो पाँच वर्षमा दिगो बैंकिङलाई संस्थागत रणनीतिक प्राथमिकताका रूपमा विकास गरिएको छ। यस अवधिमा बैंकले नवीकरणीय ऊर्जा, कृषि, स्वच्छ यातायात, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई), महिला उद्यमशीलता तथा पर्यटन क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गरेको छ।
तथ्यांकअनुसार बैंकले नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड रुपैयाँ, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ, एमएसएमई क्षेत्रमा ४५ अर्ब ७७ करोड रुपैयाँ, महिला तथा महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड रुपैयाँ, स्वच्छ यातायातमा १० अर्ब २८ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ११ अर्ब ८ करोड रुपैयाँ तथा डीडीएसएल कर्जा अन्तर्गत ५ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेको छ।
बैंकको दाबीअनुसार यी लगानीबाट एक लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ, जसमा करिब ३१ प्रतिशत महिलाको सहभागिता रहेको छ।
दिगो बैंकिङ कार्यक्रमअन्तर्गत डिजिटाइजेसनलाई प्राथमिकता दिँदा पछिल्लो पाँच वर्षमा २० मेट्रिकटनभन्दा बढी कागज बचत भएको बैंकले जनाएको छ। त्यस्तै स्वचालित प्रणालीमार्फत वार्षिक दुई लाख ६२ हजार ८०४ लिटर पानी बचत भएको तथा नवीकरणीय ऊर्जा आयोजनामा गरिएको लगानीबाट पछिल्लो चार वर्षमा करिब ३९ हजार ४५० टन कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुगेको बैंकको दाबी छ।
सामाजिक उत्तरदायित्वतर्फ बैंकले पाँच वर्षमा २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको जनाएको छ। साथै ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (एसईई)’ मार्फत हालसम्म एक हजार ५७७ उद्यमीलाई उद्यमशीलता तालिम प्रदान गरिएको छ।
बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) प्रणालीलाई व्यवसायिक निर्णय प्रक्रियामा समावेश गरेको तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) सम्बन्धी प्रतिवेदनलाई थप सुदृढ बनाउँदै लगेको जनाएको छ। हाल बैंकका कुल कर्मचारीमध्ये ३९.१५ प्रतिशत महिला रहेका छन् भने ५० जना महिलाले विभिन्न शाखा तथा रणनीतिक व्यवसायिक इकाइको नेतृत्व गरिरहेका छन्।
चार दशकभन्दा बढी समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल देशभर २६६ शाखा, ३१८ एटीएम तथा डिजिटल बैंकिङ प्लेटफर्म ‘एनबैंक’ मार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रतिक्रिया