वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नरलाई ‘वाईपास’ गर्दै राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग अर्थमन्त्रीको छलफल, भने, समस्या व्यवस्थापन होइन, समाधान गर्ने नियामक बन्नुपर्छ

गभर्नरलाई ‘वाईपास’ गर्दै राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग अर्थमन्त्रीको छलफल, भने, समस्या व्यवस्थापन होइन, समाधान गर्ने नियामक बन्नुपर्छ
अर्थटुडे
२०८३ श्रावण २०, बुधबार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच सम्बन्ध राम्रो नभएको चर्चा चलिरहेका बेला अर्थमन्त्रीले गभर्नरलाई वाइपास गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग छलफल गरेका छन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग बुधबार आयोजित अन्तर संस्थागत समन्वय बैठकमा अर्थमन्त्री वाग्लेले सरकारले अघि सारेको आर्थिक सुधार र संरचनागत रूपान्तरणलाई सफल बनाउन मौद्रिक नीतिमा पनि स्पष्टता, तत्परता र आत्मविश्वास आवश्यक रहेको बताए । उनले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलले निजी क्षेत्र अहिले सुविधा मात्र नभई स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षामा रहेको निष्कर्ष दिएको बताए । ‘हाम्रो सोच, हाम्रो प्राथमिकता र हाम्रो कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्छ’ उनले भने ।

अर्थमन्त्री वाग्लेले पछिल्लो दशकको आर्थिक अवस्थाको समीक्षा गर्दै नीति निर्माण भए पनि कार्यान्वयनमा कमजोरी देखिएको उल्लेख गरे । उनले किन निजी क्षेत्रको आत्मविश्वास कमजोर भयो, बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा पनि उद्योगमा कर्जा विस्तार हुन सकेन, पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध किन कमजोर रह्यो भन्ने प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्ने बताए । उनले नेपाल राष्ट्र बैंकलाई प्रश्न गर्दै भने, ‘के हामी पर्याप्त आत्मविश्वासका साथ काम गरिरहेका छौं ? के हाम्रो निर्णय प्रक्रिया पर्याप्त छरितो छ ? हामी समस्या समाधान गर्ने नियामक हौं कि समस्या व्यवस्थापन गर्ने मात्र ?’ उनका अनुसार अहिले आर्थिक गतिविधिलाई केवल जोखिम व्यवस्थापनको दृष्टिले मात्र होइन, अवसर सिर्जनाको दृष्टिले पनि हेर्ने समय आएको छ ।

अर्थमन्त्रीले बैठकमा सरकारका आर्थिक सुधारलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीमा रूपान्तरण गर्ने तथा पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध विकास गर्ने विषयमा धारणा मागेका थिए ।

त्यसैगरी मौद्रिक र वित्तीय नीतिबीचको समन्वयलाई प्रभावकारी बनाउने, डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणलाई सहज बनाउने विषयमा पनि उनले छलफल केन्द्रित गरेका थिए । उनले नियमनको उद्देश्य केवल नियन्त्रणमा सीमित नरही उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउने हुनुपर्नेमा जोड दिए।

संयुक्त कार्यदल गठनको संकेत

अर्थमन्त्री वाग्लेले बैठकमा उठेका विषयलाई औपचारिक छलफलमै सीमित नराखी कार्ययोजनामा रूपान्तरण गरिने बताए। आवश्यक परे सरकार र नेपाल राष्ट्र बैंकबीच संयुक्त कार्यदल गठन गर्ने, नीतिगत समन्वयलाई संस्थागत गर्ने तथा निर्णय प्रक्रियालाई थप छरितो बनाउने प्रतिबद्धता पनि जनाए । उनले अहिले सुधारका लागि राजनीतिक इच्छाशक्ति, आर्थिक स्थायित्व र निजी क्षेत्रको तयारी रहेको उल्लेख गर्दै राज्यका सबै निकायले एउटै आत्मविश्वास, स्पष्टता र गतिका साथ अघि बढ्नुपर्ने बताए ।

‘यदि सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे भने नेपालको आर्थिक रूपान्तरण अब केवल कल्पना रहने छैन, कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ,’ अर्थमन्त्री वाग्लेले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?