काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदरअनुसार भदौको तुलनामा असोजमा औसत निक्षेप ब्याजदर घटेको हो ।
असोजमा १६ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत् राखेका छन् भने चार बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकमा कुमारी, नबिल, एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूले दिने अधिकतम औसत ब्याजदर ४.०८ प्रतिशतमा झरेको छ । भदौमा यस्तो औसत दर ४.१३ प्रतिशत थियो ।
बाणिज्य बैंकहरूमध्ये प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै, कुमारी बैंकले सबैभन्दा कम ३.७३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
रेमिट्यान्स खातामा भने बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा थप एक प्रतिशतसम्म बढी ब्याज दिने व्यवस्था छ ।
बैंक तथा वित्तीय संस्थामा कर्जा लगानीयोग्य रकम पर्याप्त रहेकाले पछिल्लो समय निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ । अहिले बैंकिङ प्रणालीमा १५ खर्ब रुपैयाँभन्दा बढी कर्जा लगानीयोग्य रकम रहेको छ।
कर्जा माग कमजोर भएपछि बैंकहरूले अतिरिक्त तरलता राष्ट्र बैंकमा राख्न थालेका छन् ।
बैंक तथा वित्तीय संस्थासँग हाल कुल ८३ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप र ५९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त हुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै गएको हो ।
ब्याजदर घट्दै गएपछि राष्ट्र बैंकले तरलता प्रशोचनका विभिन्न औजारमार्फत बजारबाट रकम उठाउँदै आएको छ ।
प्रतिक्रिया