वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घरजग्गा किन्दै हुनुहुन्छ ? ५ प्रतिशतकै हाराहारीमा पाइन्छ बैंक कर्जा

घरजग्गा किन्दै हुनुहुन्छ ? ५ प्रतिशतकै हाराहारीमा पाइन्छ बैंक कर्जा
अर्थटुडे
२०८३ आश्विन ४, आईतवार

काठमाडौं । बैंकको ब्याजदर घटेसँगै घरजग्गा खरिद तथा निर्माणका लागि कर्जा लिन चाहने सर्वसाधारणका लागि ऋणको लागत केही वर्षयताकै न्यून तहमा पुगेको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको ‘नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’ मा सहभागी बैंकहरूले ६ प्रतिशतभन्दा कम ब्याजदरमै व्यक्तिगत घरकर्जाका योजना सार्वजनिक गरेपछि बैंकहरूबीच घरकर्जामा प्रतिस्पर्धा बढेको देखिएको हो ।

मेलामा सहभागी स्ट्यान्डर्ड चार्टर्ड बैंकले स्थिर ब्याजदर ५.९९ प्रतिशत तथा परिवर्तनशील ब्याजदर ५.४६ प्रतिशतमा घरकर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । त्यस्तै, सिद्धार्थ बैंकले सात वर्षका लागि ५.९९ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जा उपलब्ध गराइरहेको छ । मेलामा चारवटा वाणिज्य बैंक, चारवटा विकास बैंक र एउटा फाइनान्स कम्पनी गरी नौवटा वित्तीय संस्थाका स्टल छन् । ती संस्थाहरूले पनि तुलनात्मक रूपमा न्यून ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेका छन् ।

समग्र कर्जा सुस्त, घरकर्जामा भने उछाल

बैंकिङ प्रणालीमा समग्र कर्जाको माग अपेक्षाकृत सुस्त भइरहेका बेला व्यक्तिगत घरकर्जाको विस्तार भने तीव्र भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२\८३ सम्म बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत घरकर्जामा ४ खर्ब ७४ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा ४ खर्ब १७ अर्ब ६५ करोड रुपैयाँ थियो । एक वर्षमै व्यक्तिगत घरकर्जा १३.५२ प्रतिशतले बढेको हो ।

घरकर्जाको विस्तारमा ब्याजदर घट्नुका साथै नेपाल राष्ट्र बैंकले लिएको नीतिगत सहजीकरणले पनि भूमिका खेलेको देखिन्छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत व्यक्तिगत घरकर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पु¥याएको थियो । त्यस्तै, पहिलोपटक ३ करोड रुपैयाँसम्मको घर खरिद वा निर्माणका लागि दिइने कर्जामा कर्जा–धितो अनुपात (एलटीभी) ७० प्रतिशतबाट बढाएर ८० प्रतिशत पु¥याइएको थियो ।

यसको अर्थ, योग्य ऋणीले घर वा आवासीय सम्पत्तिको मूल्यको तुलनामा पहिलेभन्दा बढी हिस्सा बैंकबाट कर्जाका रूपमा लिन सक्ने अवस्था बनेको छ । बैंकहरूका अनुसार नियमित आम्दानी भएका व्यक्तिलाई किस्ताबन्दीमा कर्जा प्रवाह हुने भएकाले व्यक्तिगत घरकर्जाको जोखिम पनि तुलनात्मक रूपमा व्यवस्थापन गर्न सहज हुन्छ ।

घरकर्जाको ब्याजदर घट्नुको अर्को प्रमुख कारण बैंकहरूको कोषको लागत र आधारदरमा आएको कमी हो । राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ असारमा वाणिज्य बैंकहरूको आधारदर न्यूनतम ४.०६ प्रतिशतदेखि अधिकतम ५.८३ प्रतिशतसम्म रहेको थियो । औसत आधारदर ४.७७ प्रतिशत कायम भएको छ ।

बैंकहरूले आधारदरमा सामान्यतः १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा प्रवाह गरिरहेका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे बैंकहरूले सार्वजनिक गरेको न्यून ब्याजदरले घरकर्जाप्रति उपभोक्ताको आकर्षण बढाएको बताउँछन् ।

उनका अनुसार ५–६ प्रतिशतको ब्याजदरमा कर्जा उपलब्ध हुनु घरजग्गा खरिद गर्न चाहनेका लागि महत्वपूर्ण अवसर हो । तर, बैंकबाट कर्जा लिन आवश्यक पर्ने आयस्रोतसम्बन्धी प्रावधानका कारण अझै ठूलो समूह बैंकिङ कर्जाबाट बाहिर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?