काठमाडौं । एनआईसी एशिया बैंकले सञ्चालन लागत घटाउने रणनीतिअन्तर्गत शाखा संख्या घटाउनुका साथै उपल्लो तहका कर्मचारी कटौती गर्न थालेको छ । बैंकले देशका विभिन्न महानगरपालिकामा रहेका ४४ वटा शाखा समायोजन गरेको बैंकबाट स्वेच्छिक अवकाश योजना (भीआरएस) मार्फत ६ जना उच्च तहका कर्मचारी बैंकबाट बाहिरिएका छन् ।
राष्ट्र बैंकले महानगरपालिकाभित्र शाखा समायोजन गर्न दिएसँगै बैंकले काठमाडौं महानगरपालिकाभित्रका २६ वटा, ललितपुर र पोखरा महानगरपालिकामा ६–६ वटा, विराटनगरमा ३ वटा, वीरगञ्जमा २ वटा र भरतपुरमा एउटा शाखा समायोजन गरेको छ । यससँगै बैंकले कर्मचारी खर्च घटाउने उद्देश्यले भीआरएससमेत कार्यान्वयन गरेको छ ।
भीआरएसअन्तर्गत नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाँ तथा कैलाश गौतम, सुनिल मानन्धर, मनोज अधिकारी र देवेन्द्र भट्ट बैंकबाट बाहिरिएका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यका अनुसार भीआरएसमा सहभागी सबै ६ जनाको राजीनामा स्वीकृत भइसकेको छ ।
बैंकले सहायक प्रबन्धक र सोभन्दा माथिल्लो तहका कर्मचारीलाई लक्षित गर्दै १५ महिनाको ग्रस तलबबराबरको सुविधा एकमुष्ट दिने गरी भीआरएस ल्याएको थियो।
भीआरएसमा सहभागी कर्मचारीले बैंकबाट कर्मचारी सुविधाअन्तर्गत कर्जा लिएको भए त्यसलाई व्यावसायिक कर्जामा परिणत गरी बेस रेटबराबरको ब्याजदर कायम गर्ने सुविधा दिएको छ ।
सीईओ शाक्यले बैंकको दीर्घकालीन लागत घटाउने उद्देश्यले भीआरएस ल्याइएको बताए । बैंकमा उनले जिम्मेवारी लिएसँगै सञ्चालन तथा वित्तीय अवस्थामा सुधार ल्याउन विभिन्न कार्यक्रम अघि बढाएका छन् ।
जसको कारण बैंक गत आर्थिक वर्ष २०८२/८३ मा नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८७ करोड रुपैयाँ घाटामा रहेको बैंकले गत आर्थिक वर्षमा १८ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यद्यपि बैंकको निष्क्रिय कर्जा अनुपात अझै उच्च छ। गत आर्थिक वर्षको अन्त्यमा बैंकको निष्क्रिय कर्जा ९ दशमलव २६ प्रतिशत रहेको थियो।
कर्जा प्रवाहमा देखिएको कमजोरीका कारण वित्तीय अवस्था प्रभावित भएको स्वीकार गर्दै सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ । सीईओ शाक्यका अनुसार बैंकमा ठूला सुधारका काम भइरहेका छन् र त्यसको परिणामस्वरूप केही कर्पोरेट ग्राहक पुनः बैंकमा फर्किन थालेका छन् । ‘तत्काल जादु भई बैंकको अवस्था सुध्रिन्छ भन्ने होइन । पूर्ण रूपमा सुधार आउन तीन वर्ष लाग्ने अनुमान छ,’ शाक्यले भने ।
बैंकले एकातर्फ शाखा समायोजन गर्दै सञ्चालन खर्च घटाउने र अर्कोतर्फ उच्च तहका कर्मचारीलाई भीआरएसमार्फत बाहिर पठाएर दीर्घकालीन लागत व्यवस्थापन गर्ने रणनीति अघि सारेको छ ।
शाक्य एनआइसी एशियामा २०८२ कात्तिक १७ गते सिइओको नियुक्त भएका थिए । उनको कार्यकाल एक वर्ष पुरा भएको छैन । तर, उनको रणनीतिले बैंकको आर्थिक सूचकहरूमा सुधारका संकेतहरू भने देखिन थालेका छन् ।
प्रतिक्रिया