काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको नाफा ४५ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १९ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका थिए । गत वर्षको तुलनामा बैंकहरूको खुद नाफा ५ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ अर्थात् ४५.५९ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । बैंकले असोज मसान्तसम्म २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । यससँगै नबिलको नाफा ४५.४३ प्रतिशतले बढेको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा २४.४९ प्रतिशतले बढेको हो । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थान कायम गरेको छ । बैंकको नाफा १७५.५२ प्रतिशतले बढेको छ ।
वृद्धिदरको आधारमा भने सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उच्च छ । गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, एनएमबि बैंकले १ अर्ब १६ करोड ४३ लाख, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख, सानिमा बैंकले १ अर्ब ५ करोड १५ लाख र सिद्धार्थ बैंकले ८५ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
पहिलो त्रैमासमा अधिकांश बैंकको नाफा बढे पनि केही बैंकको भने घटेको छ । प्राइम कमर्सियल बैंकको नाफा ५.६२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.९९ प्रतिशत र हिमालयन बैंकको ६.८४ प्रतिशतले घटेको छ ।
यसैगरी, सिटिजन्स बैंक गत वर्षको पहिलो त्रैमासमा घाटामा रहेकामा चालु आर्थिक वर्षमा नाफामा फर्किएको छ । गत वर्ष २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको बैंकले यस वर्ष १० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
समग्रमा बैंकहरुको खुद ब्याज र कमिसन तथा सेवा शुल्क आम्दानी वृद्धिसँगै खराब कर्जालगायतका जोखिम व्यवस्था वापत छुट्याउनुपर्ने रकम घट्दा नाफामा सुधार देखिएको छ ।
प्रतिक्रिया