काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकारको विरोधमा भइरहेका गतिविधिप्रति निजी क्षेत्रका तीनवटै संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पाथीभरा केबलकार परियोजनाको विषयलाई लिएर आन्दोलन र बन्दका गतिविधिहरु भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
पाथिभरा केवलकार निर्माणको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा बन्द हडताल हुनुका साथै त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको निजी क्षेत्रको दावी छ । उनीहरुले विज्ञप्ति मार्फ कोशी प्रदेशका आम नागरिकले सास्ती भोग्नुपरेको भन्दै असन्तुष्टी समेत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पाथीभरामा केबलकार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवद्र्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवद्र्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्ने तथा देशकै पर्यटन विकासमा नयाँ आयाम थप्ने छ ।’
केवलकार बन्न दिनु हँदैन भनेर बाह्य हस्तक्षेप भएको दावी गर्दै तीनवटै संगठनले स्थानीय बासिन्दाहरु केवलकार निर्माणका लागि सहमत भएको समेत दावी गरेका छन्। उनीहरुले विज्ञप्ति मार्फत केवलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा लिएको पनि निजी क्षेत्रका संगठनहरुको भनाइ छ ।
प्रतिक्रिया