काठमाडौ । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्यका लागि ३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ बराबरको ठेक्का सम्झौता गरेको छ । पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सो सम्झौता गरेको हो
सोमबार एमसीए नेपालले गरेको सम्झौतामा सो सडक खण्ड स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडक खण्ड आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग पनि सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्ड स्तरोन्नति गरिने छ । ‘फुल डेप्थ रिक्लेमेसन’ र ‘सुपरपेभ’ प्रविधि प्रयोग गरी सडकको चौडाइ सात मिटर क्यारिजवे र २.५ मिटर सोल्डरसहित १२ मिटर बनाइनेछ।
यसबाट व्यापार र सवारी सञ्चालन लागत घट्ने र सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ। एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यो सम्झौताले सरकारका सबै तहमा साझा प्रतिबद्धता देखाएको बताए भने अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले नवीनतम प्रविधिबाट दिगो र प्रभावकारी सडक मर्मत सम्भव भएको बताए।
एमसीए–नेपालको यो आयोजनाले पूर्व–पश्चिम राजमार्गलाई थप मजबुत बनाउने र मुलुकको आर्थिक गतिशीलता बढाउने विश्वास लिइएको छ।
कार्यक्रमम अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले नेपालमा पहिलो पटक भित्रिएको नवीनतम प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त भएको र एमसीए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको बताए ।
प्रतिक्रिया