काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत थप तीन विषयगत समितिले पूर्णता पाएका छन्। यससँगै महासंघका २५ विषयगत समितिमध्ये ११ वटा समितिले पूर्णता पाएका छन्।
महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा बैंक, फाइनान्स तथा बीमा समिति, व्यापार मेला समिति तथा पर्यटन तथा हवाई यातायात समिति का उपाध्यक्ष, सदस्य र सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको महासंघले जनाएको छ।
कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताए। उनले सम्बन्धित क्षेत्रका समस्या र नीतिगत विषयमा गहन अध्ययन गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी ढंगले सुझाव पेश गर्न समितिहरूलाई आग्रह गरे। समितिहरूको सक्रियताले निजी क्षेत्रको सशक्तीकरण र मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघका नीति तथा कार्यक्रम कार्यान्वयनका आधार भएको उल्लेख गर्दै व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरे। त्यस्तै, कोषाध्यक्ष मनीषलाल प्रधानले निजी क्षेत्र, सरकार तथा सरोकारवाला निकायबीच समन्वय कायम गर्न समितिहरूको भूमिका महत्वपूर्ण रहने बताए।
नवनियुक्त समितिका सभापतिहरूले पनि आ–आफ्नो क्षेत्रको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैंक, वित्तीय तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले वित्तीय पहुँच विस्तार, ब्याजदर स्थिरता र निजी क्षेत्रमैत्री नीति निर्माणमा जोड दिने बताए। व्यापार मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य रहेको बताए भने पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन पूर्वाधार विकास, हवाई यातायातको सहजता र नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
महासंघले विषयगत समितिहरूलाई निजी क्षेत्रका विभिन्न समस्या तथा सम्भावनाको पहिचान, नीतिगत सुझाव तयारी, सरकारसँग संवाद तथा सहकार्य र महासंघको संस्थागत धारणा निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण संयन्त्रका रूपमा अघि बढाउँदै आएको जनाएको छ।
प्रतिक्रिया