काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु प्याभिलियन अडिटोरियम हलमा मंगलबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ।
एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ। एक्स्पोमा विभिन्न ब्रान्डले ४८ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोको उद्घाटन गर्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोलाई सवारीसाधन किनबेच गर्ने थलोका रूपमा मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एउटै ठाउँमा ल्याउने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको बताइन्।
उनले पटक–पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेको भन्दै निजी क्षेत्र र सरोकारवालासँग छलफल गरेर मात्र नीति परिवर्तन गर्न सरकारलाई सुझाव दिइन्।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक काफ्लेले सवारीसाधन बिक्रीमा मात्र केन्द्रित नभई सुरक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न व्यवसायीलाई सुझाव दिए। उनले ब्रान्डहरूले बिक्रीपछिको सेवामा समेत ध्यान दिनुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई सदैव राजस्वको स्रोतका रूपमा मात्र हेर्ने गरेको गुनासो गरे। उनले अटोमोबाइललाई विलासिताको वस्तुका रूपमा नभई आवश्यकताको क्षेत्रका रूपमा लिनुपर्ने बताए।
श्रेष्ठका अनुसार नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये पर्ने भन्सार दर लागू गरिएको छ। उनले विद्युतीय सवारीसाधनका लागि पनि स्थिर नीति आवश्यक रहेको बताए। निजी क्षेत्र लगानी गर्न तयार रहे पनि त्यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई राजस्व प्रदान गर्ने प्रमुख क्षेत्रमध्ये एक भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने उनले बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषयमा मात्र सीमित नरहेको बताए। उनले मोबिलिटी क्षेत्र नेपालको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गरे।
मोबिलिटी क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रसँग अन्तरसम्बन्धित रहेकाले यसलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने अग्रवालको भनाइ थियो।
एक्स्पोको पहिलो दिन ‘इन्भेष्टमेन्ट एण्ड फरेन डाइरेक्ट इन्भेष्टमेन्ट माेविलाइिजङ फ्युल पफर इकाेनाेमिक ग्राेथ ’ विषयमा छलफलसमेत भएको थियो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा नाइमा अध्यक्ष रितु सिंह वैद्य सहभागी थिए।
लर्निङ सेसनमा तीन सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञद्वारा लर्निङ सेसन, नीति संवाद तथा उद्योगसँग सम्बन्धित अन्तरक्रियाका कार्यक्रम सञ्चालन हुनेछन्।
यस्तै, ‘बेसिक लाइफ सपोट एण्ड इमिडेट केयर आफ्टर रोड ट्राफिक एक्ससिडेण्ट’ विषयमा ग्रान्डी इन्टरनेसनल हस्पिटलका तर्फबाट विशेष प्रस्तुति दिइएको थियो।
दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता तथा आयातकर्ताको सहभागिता छ। एक्स्पोमा विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारीसाधन खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्। ग्लोबल आइएमई बैंक मुख्य सह–प्रायोजक तथा रेडबुल पावरबाइक रेडबुल पार्टनरका रूपमा रहेका छन्। एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा सहभागी छन्।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड, ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गर्ने तयारी रहेको आयोजकले यसअघि जनाएको थियो।
प्रतिक्रिया