वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ठूला उद्योगमा विद्युत् बन्द, प्राधिकरण र निजी क्षेत्र दुवैलाई करोडौँ घाटा

ठूला उद्योगमा विद्युत् बन्द, प्राधिकरण र निजी क्षेत्र दुवैलाई करोडौँ घाटा
अर्थटुडे
२०८२ कार्तिक १४, शुक्रबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गरेपछि देशको ऊर्जा क्षेत्रमा दैनिक करोडौँ रुपैयाँ बराबरको घाटा भएको छ । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादका कारण प्राधिकरणले गत ४ कात्तिकदेखि उद्योगहरूको लाइन काट्न थालेको थियो । सुरुमा ६ उद्योगको लाइन काटिएकोमा अहिले यो संख्या बढेर २५ पुगेको छ । ती उद्योगहरूले दैनिक करिब ३ सय मेगावाट बिजुली खपत गर्दै आएका थिए ।

उद्योगहरूको लाइन काटिएपछि देशभरका १६ जलविद्युत् आयोजना ‘कन्टिन्जेन्सी’मा परेका छन्, जसबाट उत्पादित करिब ४ सय ५० मेगावाट बिजुली प्राधिकरणले खरिद गर्न सकेको छैन । विद्युत् व्यापार विभागका निर्देशक कमल आचार्यका अनुसार उक्त बिजुली खपत नहुँदा प्राधिकरणलाई दैनिक करिब ५ करोड रुपैयाँ घाटा भइरहेको छ ।

यता, प्राधिकरणले बिजुली नकिनेपछि निजी जलविद्युत् कम्पनीहरूलाई पनि ठूलो नोक्सानी भएको छ । ग्रिन इनर्जी आन्ट्रप्रेनर नेपालका अध्यक्ष सूर्यप्रसाद अधिकारीका अनुसार निजी उत्पादकहरूले उत्पादन रोक्नुपरेको र दैनिक करिब ६ करोड रुपैयाँ बराबरको घाटा बेहोर्नुपरेको छ ।

हाल नेपालमा कुल विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय मेगावाट पुगेको छ । तर आन्तरिक माग अधिकतम १ हजार ७ सय ५० मेगावाट मात्र छ, जसका कारण पर्याप्त खपत नहुँदा ठूलो परिमाणमा बिजुली खेर जाँदैछ ।

प्राधिकरणले भारत र बंगलादेशमा अधिकतम १ हजार १ सय ६५ मेगावाट मात्रै निर्यात गर्न सक्ने भएकाले बाँकी बिजुली देशभित्र खपत गर्नै नसकिएको हो ।

उद्योगहरू ठप्प हुँदा उत्पादन र रोजगारीमा असर परेको छ । ऊर्जा विशेषज्ञहरूका अनुसार यस्तो कदमले दीर्घकालीन रूपमा लगानीकर्ताको विश्वासमा पनि नकारात्मक प्रभाव पार्ने देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?