काठमाडौं । लामो समयदेखि घाटामा चलेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई पुनर्संरचना गर्दै तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्नुपर्ने सिफारिस गरिएको छ। उद्योगमन्त्रीको नेतृत्वमा बनेको ‘नागरिक उड्डयन क्षेत्र सुधार सम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समिति’ ले निगमलाई आधुनिक ढाँचा र प्रतिस्पर्धी प्रणालीमा लैजानका लागि यस्तो प्रस्ताव सरकारसमक्ष पेस गरेको हो।
समितिले निगमलाई तीन स्वतंत्र एकाइमा बाँड्ने सुझाव दिएको छ । नेपाल एयरलाइन्स कम्पनी लिमिटेड – अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि, नेपाल उड्डयन सेवा प्रदायक कम्पनी लिमिटेड – ग्राउन्ड ह्यान्डलिङका कार्यका लागि, नेपाल वायुसेवा निगम – आन्तरिक उडानका लागि छुटाउनु पर्ने सिफारिस आएको हो । यस्तै अन्तर्राष्ट्रिय उडान छुट्टै कम्पनीमार्फत सञ्चालन गर्नुपर्ने सुझाइएको छ ।
समितिको सिफारिसअनुसार नेपाल एयरलाइन्स कम्पनी लिमिटेड ले निगमको मुख्यालय, अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने विमान र पार्टपूर्जा आफ्नै मातहत लिनेछ। यो कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम “व्यावसायिक इकाइ” बनाइने प्रस्ताव गरिएको छ।
त्यस्तै, ग्राउन्ड ह्यान्डलिङ सेवा सम्हाल्न नयाँ “नेपाल उड्डयन सेवा प्रदायक कम्पनी लिमिटेड” गठन गर्ने सुझाव छ। यस कम्पनीले विमानस्थलमा प्रयोग हुने सम्पूर्ण उपकरण, अचल सम्पत्ति र कर्मचारी व्यवस्थापन गर्नेछ। सिनामंगलस्थित निगमको ३५ रोपनी १३ आनामध्ये आधा जग्गा यस कम्पनीको स्वामित्वमा रहने सिफारिस गरिएको छ।
समितिले निगमको हालको ऐनमा संशोधन गरी नयाँ संरचना लागू गर्नुपर्ने र आवश्यक परे विशेष ऐनद्वारा कानुनी बाटो खोल्ने सुझाव दिएको छ। समितिकका अनुसार निगमलाई प्रतिस्पर्धी, पारदर्शी र नाफामुखी संस्थामा रूपान्तरण गर्न यही पुनर्संरचना “एक मात्र दीर्घकालीन समाधान” हो।
प्रतिक्रिया