काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत र सहयोग पुर्याउदै आत्मविश्वासको जगेर्ना गर्न सरकार तत्पर रहेको बताएकी छिन् । शनिबार नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले अहिले उद्योगी व्यवसायीहरुलाई जेन जी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पु¥याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी नराख्ने बताएकी हुन् ।
उनले निजी क्षेत्रको योगदान देशको अर्थतन्त्रमा उल्लेखनीय रहेको दावी गर्दै उद्योगी व्यवसायीहरूलाई आर्थिक समृद्धिको जगका विशाल ढुङ्गाहरू रहेको समेत बताइन् । उनले भनिन्,‘उद्योगी व्यवसायीहरु आर्थिक संबृद्धिको जगका विशाल ढुंगाहरु हुन्, जसमाथि समग्र मुलुकको समृद्धिको धरहरा अडिने छ।’
देश आन्दोलन र सङ्क्रमणको प्रसव पीडाबाट गुज्रिरहेको बताउँदै अर्थतन्त्रको जग (रेमिट्यान्स, प्राकृतिक स्रोत, पर्यटन) बलियो हुँदाहुँदै पनि संरचनागत कमजोरी र पुँजी पलायनका कारण मेहनत अनुसारको फल पाउन नसकेको प्रधानमन्त्री कार्कीले दावी गरिन् ।
उनले समग्र बजारमा निराशा छाएको यथार्थलाई स्वीकार गर्दै पछिल्ला दशकहरूमा धेरै हण्डरठक्कर खाएको र प्रत्येक अप्ठ्यारासँग हामी मिलेर जुधेको र यसपाली भने चुनौति केही फरक रहेकोले यसलाई पनि पार गर्न सकिने बताइन् ।
जेनजी आन्दोलनले देशलाई घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य नभएको, लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य नभएको र इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहनु हुँदैन भन्ने स्पष्ट सन्देश दिएको दावी गरिन् । उनले आन्दोलनको पृष्ठभूमिमा केही उच्छृङ्खल समूहहरूले राज्यविहीनताको फाइदा उठाउँदै उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति स्वीकार्य नभएको समेत स्पष्ट पारिन् ।
जेनजी आन्दोलन आर्थिक–सामाजिक अग्रगमनकै लागि भएको दावी गर्दै सुशासन, नीतिगत सुधार र सहकार्यको इन्जिनबाट नै विभिन्न चुनौतीहरू सामना गर्ने स्पष्ट नीति रहेको पनि उनले जानकारी दिइन् ।
‘सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त हो। राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी सङ्कष्टपूर्ण प्रणालीप्रति हामी सजग छौ । कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन। सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको छ।’ उनले भनिन् ।
उद्योगीको पिरमर्का सरकारको पनि रहेको दावी गर्दै उनले भनिन् , ‘उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसङ्ख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि वहन गरिदिएका हुन्छन्। तसर्थ, उद्योग व्यवसायबिना देश बन्दैन। उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन।’
नेपाल निर्माणका इन्जिनियर नेपाली स्वयं हुन्, भन्दै उनले भनिन्, ‘समाज र सरकार त्यसका प्रणाली इन्जिन हुन्, र उद्यमी, व्यवसायी र श्रमिक त्यसका इन्धन हुन्।’
म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु—डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् । अहिले आशंका र भय पाल्ने बेला होइन। हातेमालो गर्ने बेला हो। विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने सङ्केत दिएका छन्, जसले हाम्रो प्रयास सही दिशामा छ भन्ने देखाउँछ। हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौँ। प्रधानमन्त्री कार्कीले भनिन् ।
प्रतिक्रिया