काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि प्रकाशित गरेका ब्याजदर सूचीमा मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिकको तुलनामा थप घटेको देखिएको छ। २० वटा बैंकका दरहरू हेर्दा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६ प्रतिशत बिन्दुले कम भएको हो।
कात्तिकमा व्यक्तिगत मुद्दतीको औसत अधिकतम ब्याज ५.२००५ प्रतिशत रहेकोमा मंसिरमा यो ५.०४०५ प्रतिशतमा झरेको छ। अधिकतम ब्याजदर भने ६ प्रतिशतकै दायरामा रहेकामा ग्लोबल आईएमई बैंकले ३ वर्षभन्दा बढी अवधिका लागि ६ प्रतिशत तोकेर सबैभन्दा उच्च दर निरन्तरता दिएको छ।
२० मध्ये १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने बाँकी १० बैंकले ब्याजदर घटाएका छन्। दर घटाउने बैंकमा एनआईसी एशिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैंक परेका छन्। त्यस्तै कृषि विकास, एभरेस्ट, नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले दर स्थिर राखेका छन्।
छोटो अवधिका मुद्दतीमा ब्याजदर कम र लामो अवधिका निक्षेपमा केही बढी दर प्रस्ताव गर्ने प्रवृति अहिले पनि कायम छ। ५ वर्षभन्दा माथिका व्यक्तिगत मुद्दतीमा बैंकहरूले उच्च ब्याज उपलब्ध गराउँदै आएका छन्। मुद्दती निक्षेपको ब्याजदर घटेपछि बचत खाता तथा संस्थागत निक्षेपको ब्याजदर पनि स्वतः घट्नेछ। यसले आधार दरमा दबाब परेर कर्जाको ब्याजदरसमेत घट्ने सम्भावना हुन्छ।
हाल लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जा विस्तार कम रहँदा बैंकहरू ब्याजदर घटाउने स्थितिमा पुगेका हुन्। राष्ट्र बैंकले पनि पछिल्लो समय दीर्घकालीन तरलता व्यवस्थापनका लागि विभिन्न उपकरणमार्फत बैंकबाट पैसा सोस्ने नीतिमा रहेको छ। हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतमा कायम छ।
प्रतिक्रिया