काठमाडौ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पुर्व कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको खाताहरुको विवरण पेस गर्न विशेष अदालतले आदेश दिएको छ ।
अदालतले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विवरण पेश गर्न आदेश दिएको हो । पौडेलले सरकारी उपकरण र सफ्टवेयर खरिदका क्रममा सिंगापुरमा घुस लिएको र त्यो रकम सिंगापुरको बैंकमा राखेको दाबीसहित अख्तियारले वैशाख, २०८१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यही मुद्दाको सुनुवाइपछि विशेष अदालतले खातापाताको विवरण नै पेस गर्न आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासको आदेशमा भनिएको छ, ‘विवरण प्राप्त हुन सक्ने भए विवरण र विवरण प्राप्त हुन नसक्ने भए सोही बमोजिमको जबाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट यथासक्य छिटो जवाफ मगाउनू । ‘
नेपाल र सिंगापुरविच पारस्परिक कानुनी सहायता आदानप्रदान सम्झौता नहुदा खाता विवरण झिकाउन कत्तिको संभव छ भनी अदालतले कानुन मन्त्रालयसँग जवाफ समेत मागेको छ । त्यस्तै खाता विवरण झिकाउन अदालतले नेपाल राष्ट्र बैंकलाई समेत आदेश दिएको थियो ।
विभिन्न सरकारी ठेक्कापट्टाको घुसबापतको रकम सिंगापुरमा बुझेर बैंकमा बचत गरेको आरोपमा अख्तियारले ९ वैशाख, २०८१ मा सुनिल पौडेल र अनिल पौडेलविरुद्ध गैरकानुनी सम्पत्तिआर्जनको भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।
नेपाल र सिंगापुरमा गरी २४ करोड ९४ लाख रुपैंया सम्पत्ति जोडेको दाबीसहित अख्तियारले त्यो मध्येको २३ करोड ७५ लाख रुपैंया गैरकानूनी रुपमा भ्रष्टाचारबाट कमाएको दाबी गरेको थियो ।
प्रतिक्रिया