काठमाडौ । सांसदहरूले आगामी आर्थिक वर्षको बजेट र सरकारको आर्थिक नीतिका सम्बन्धमा छलफल गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई बोलाउनुपर्ने बताएका छन्।
सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बार्षिक कार्ययोजनाबारेमा भएको छलफलमा सांसदहरुले सो कुरा बताएका हुन् ।
सांसदहरूले संसदीय समितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएर छलफल चलाउन माग गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले समितिमा प्रि बजेट छलफल हुनुपर्ने माग राखे । प्रत्येक वर्ष जेठ १५ गते अर्को आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअगाडि संसद्मा प्री–बजेट छलफल गर्ने अभ्यास छ । संसदीय विषयगत समितिमा पनि प्री–बजेट छलफल हुने र सो छलफलमा अर्थमन्त्री बोलाइनुपर्ने बताए ।
नेकपा एमालेकी सांसद रेखा कुमारी झाले आगामी आर्थिक बर्षको बजेट मधेशलाई केन्द्रमा राखेर आउनुपर्ने धारणा राखिन् । उनले नयाँ सरकार बनाउनका लागि मधेशको ठूलो भुमिका रहेको भन्दै सोही अनुसार मधेशलाई बजेटमा प्राथमिकतामा पार्नुपर्ने बताइन् ।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद सावित्री मल्लले पनि अर्थमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताउदै भनिन्, कर्णाली लगायत विगतमा पछाडि पारिएका क्षेत्र र भूगोललाई ख्याल गरेर सरकारले नीति तथा योजना ल्याउनुपर्छ ।
उनले भनिन्, ‘समान बजेट वितरणबारे सरकारले के सोचिरहेको छ ? अर्थमन्त्रीसँग छलफल गरौं ।’
प्रतिक्रिया