काठमाडौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले लगानी स्वीकृत भएको लामो समयसम्म पनि काम हुन नसक्नुमा को दोषी हो ? भनेर प्रश्न गरेका छन् । लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा उनले ५५ वटा परियोजनामा बैदेशिक लगानी स्वीकृत भएपनि जम्मा २ वटा बैदेशिक लगानीका परियोजना मात्र निर्माणमा जानु लाजमर्दो भएको भन्दै मान्छे भए मान्छे र कानुन भए कानु परिवर्तन गरेर अगाडी बढ्नुपर्ने बताए ।
उनले भने,‘परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुमा दोषी को हो ? मान्छे भए मान्छे कानुन भए कानुन फेरेर भएपनि काम गर्नुपर्छ ।’ त्यस्तै उनले लगानी स्वीकृत भएर पनि निर्माणको प्रकृयामा नजानुमा समस्या के हो ? त्यो तुरुन्तै चाहिएको भन्दै अब १४ औँ बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर सोचिने चेतावनी समेत दिए ।
‘लगानी सहजीकरण गर्ने यति ठूलो शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भयो,कम्तिमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुप¥यो ।’ डा. वाग्लेले भने । उनले केही फेन्सी आयोजना रहेको र त्यो बारे सोच्नुपर्ने समेत बताए ।
त्यस्तैगरी प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजना को हालत अत्यन्तै दयनीय देखिएको भन्दै विदेशी लगानीका परियोजना अघि बढाउन बाधक के–के हुन तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
उनले भने, ‘कुन निकाय ? कुन व्यक्ति ? के के कारणले समन्वय गर्न नसकेको हो ? अब यो मनिटरिङ हुन्छ । ’ त्यस्तै बोर्डका प्रमूख कार्यकारी निर्देशक सुशील ज्ञवालीले कार्यालय तथा समितिको काम कर्तव्य, अधिकार, बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया