काठमाडौं । ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गाको कारोबार अब कम्पनीमार्फत गर्नुपर्ने भएको छ । सरकारले सोमबार एक सूचना जारी गर्दै महानगरपालिका तथा उपमहानगरपालिकाहरुमा तीन करोड भन्दा बढी थैली रकम कायम भएको घरजग्गाको कारोबार अनिवार्य रूपमा इजाजतपत्र प्राप्त कम्पनीमार्फत गर्नुपर्ने व्यवस्थालाई पुनः कार्यान्वयनमा ल्याएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले यसअघि गत फागुनमै कम्पनीमार्फत कारोबार गर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो । तर यस्ता कम्पनीहरुले भू–सेवा केन्द्रको पनि अनुमति लिनुपर्ने कारण देखाएर व्यवसायीले कारोबार गर्न आनाकानी गरेका थिए । विभागले लाइसेन्स लिएका कम्पनी सबैलाई भू–सेवा केन्द्रको अनुमति लिनुपर्ने बाध्यता नरहेको स्पष्ट पारेको छ ।
हाल देशभरका सबै महानगर र उपमहानगरभित्र १५९ ओटा कम्पनीले इजाजतका लागि आवेदन दिएकोमा ६९ ओटाले राजस्व बुझाई इजाजत लिएका छन् । विभागले अब कडाइपूर्वक इजाजतपत्रको व्यवस्था कार्यान्वयन गर्न लागेको जनाएको छ ।
प्रतिक्रिया