काठमाडौ । आजदेखि नयाँ आर्थिक २०८३/०८४ सुरु भएको छ । आजैका दिनदेखि सरकारले विभिन्न क्षेत्रमा लगाएका नयाँ करका दरहरु लागु हुनेछन् । चालु आर्थिक बर्षको लागि ल्याइएको बजेटमा व्यवस्था गरिएको विभिन्न करका दरहरु आजैका दिनदेखि सक्रिय हुनेछन् । सरकारले शिक्षा र स्वास्थमा समता शुल्क ३ प्रतिशत लाग्ने छ ।
आर्थिक ऐन, २०८३ अनुसार बिरामी वा उपचार गर्ने व्यक्तिले अस्पताललाई तिर्ने हरेक रकम र निजी विद्यालयले हरेक विद्यार्थीबाट लिने शुल्कमा ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्क लाग्नेछ। सरकारले यसअघि पनि यस्तो शुल्कको सुरुवात गरेर कार्यान्वन नभएपछि बन्द गरेको थियो ।
करको दायरालाई विस्तार गर्ने नाममा अहिले फेरी सरकारले यस्तो कर लगाएको छ । यस्तो करबाछ सबैभन्दा बढी प्रत्यक्ष असर निजी विद्यालय र निजी स्वास्थ्य संस्थाबाट सेवा लिने उपभोक्तालाई पर्ने देखिएको छ।
त्यस्तै आजबाटै सरकारले दुई दरको मूल्य अभिवृद्धि कर (भ्याट) को सुरुवात गरेको छ । विद्युत र राइड सेयर सेवामा पहिलो पटक भ्याट लागू गरेको छ । यीनीहरुलाई अरुमा जस्तो १३ प्रतिशतको भ्याट छैन ।
सरकारले घरायसी प्रयोजनका लागि ५० युनिटभन्दा बढी विद्युत उपभोग गर्ने उपभोक्ताले ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ । ५० युनिटसम्मको घरायसी विद्युतमा भने यो व्यवस्था लाग्दैन। तर घरायसी प्रयोजनभन्दा बाहिरमा विद्युत प्रयोग भएमा १३ प्रतिशत नै भ्याट तिर्नुपर्नेछन् ।
त्यस्तै राइड सेयर सेवाको प्रयोगकर्ताले तिर्ने भाडामा ५ प्रतिशत भ्याट लाग्नेछ। तर राइड सेयर कम्पनीले चालकबाट लिने सेवा शुल्कमा भने १३ प्रतिशत भ्याट लाग्नेछ।
आन्तरिक राजस्व विभागले ५ प्रतिशत भ्याट लागेको क्षेत्रमा कर क्रेडिट वा भ्याट फिर्ताको व्यवस्था नभएको स्पष्ट गरेको छ। १३ प्रतिशत भ्याट लागेको क्षेत्रमा भने कानुनअनुसार भ्याट फिर्ता गर्न सकिनेछ ।
आजदेखि सेयर कारोबारबाट भएको नाफामा नयाँ दरको पुँजीगत लाभकर लागू भएको छ। एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्दा भएको नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधिपछि बिक्री गर्दा ७.५ प्रतिशत कर लाग्नेछ। यसअघि यी दर क्रमशः ७.५ प्रतिशत र ५ प्रतिशत थिए।
घरजग्गा कारोबारमा पनि कर बढेको छ। पाँच वर्ष वा सोभन्दा बढी स्वामित्व भएको घरजग्गा बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। यसअघि यस्तो कारोबारमा ५ प्रतिशत कर लाग्थ्यो। पाँच वर्षभन्दा कम स्वामित्व भएको घरजग्गा बिक्री गर्दा १० प्रतिशत कर लाग्नेछ।
त्यस्तै सरकारले सुनचाँदीमा लाग्दै आएको विलासिता शुल्क हटाएर ०.५ प्रतिशत सीप प्रवद्र्धन शुल्क लागू गरेको छ। पाँचतारे होटल तथा आयातित मदिरामा लाग्दै आएको २ प्रतिशत विलासिता शुल्क भने यथावत छ।
प्रतिक्रिया