काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक रहेको भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग खुला र परिणाममुखी संवादको आह्वान गरेका छन् ।
वाणिज्य बैंकका सीईओहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले बजेटमार्फत आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिसकेको उल्लेख गर्दै अब मुख्य ध्यान त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए । बजेट कार्यान्वयनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि बैंकिङ क्षेत्रका अनुभव र सुझाव आवश्यक रहेको उनकाे भनाइ थियो।
उनले उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली रहेको उल्लेख गर्दै अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास तथा लगानीकर्ताको अपेक्षाबारे सबैभन्दा स्पष्ट जानकारी बैंकिङ क्षेत्रसँग हुने बताए ।
अर्थमन्त्री वाग्लेले सरकार, निजी क्षेत्र र बैंकिङ क्षेत्रको साझा लक्ष्य अर्थतन्त्रलाई पुनः गति दिने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने तथा निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने रहेको स्पष्ट पारे । यसका लागि सरकारले नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अघि बढाइरहेको पिन उनले जानकारी पनि दिए ।
छलफलका क्रममा उनले व्यवसायीहरू लगानी विस्तार गर्न किन हिच्किचाइरहेका छन्, ऐतिहासिक रूपमा न्यून ब्याजदर हुँदाहुँदै पनि कर्जाको माग किन बढ्न सकेको छैन, बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादनशील क्षेत्रमा किन परिचालन हुन सकेको छैन भन्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको स्पष्ट धारणा मागे ।
साथै, मौद्रिक नीति, वित्तीय नीति, नियमन, सुपरिवेक्षण तथा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उपायबारे सुझाव दिन आग्रह गरे । उनले बैठक समस्या पहिचानमा मात्र सीमित नरहने उल्लेख गर्दै समाधान, समयसीमा र जिम्मेवारीसहित कार्यान्वयनयोग्य निष्कर्षमा पुग्ने सरकारको प्रतिबद्धता व्यक्त गरे । आवश्यक परे कानुनी सुधार, प्रक्रियागत परिवर्तन तथा संस्थागत समन्वयका निर्णय लिन सरकार पछि नहट्ने उनकाे भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमनमा मात्र सीमित नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको उल्लेख गर्दै आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्वका लागि दुवै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । उनले छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
बैठकको अन्त्यमा अर्थमन्त्री वाग्लेले विश्वास निर्माण, लगानी विस्तार, उत्पादन वृद्धि तथा नेपाललाई उच्च आर्थिक वृद्धि र उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने साझा उद्देश्यसहित कार्यान्वयनयोग्य निष्कर्ष निकाल्न सबै पक्षलाई आह्वान गरे ।
प्रतिक्रिया