वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ठूला करदातालाई अर्थमन्त्री वाग्लेको आग्रह : ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्’

ठूला करदातालाई अर्थमन्त्री वाग्लेको आग्रह : ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्’
अर्थटुडे
२०८३ श्रावण २५, सोमबार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका ठूला करदाता तथा निजी क्षेत्रलाई मुलुकमा थप लगानी गर्न आग्रह गरेका छन्। ठूला उद्योगी तथा व्यवसायिक संस्थाका नेतृत्वसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालका ठूला करदाता, रोजगारदाता र लगानीकर्तालाई राष्ट्र निर्माणका अग्रणी साझेदारका रूपमा सरकारले हेरेको बताए।

उनले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई साझेदारको दृष्टिले हेर्ने स्पष्ट पारे। निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको भन्दै उनले सरकारको प्राथमिकता केवल कर संकलन बढाउनु नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको बताए।

‘उद्योगले नाफा कमाउँछ, त्यही नाफा पुनःलगानी हुन्छ। पुनःलगानीले उत्पादन बढाउँछ। उत्पादनले रोजगारी सिर्जना गर्छ। रोजगारीले आम्दानी बढाउँछ र आम्दानीले बजार विस्तार गर्छ,’ उनले भने। अन्ततः यसबाट राज्यको राजस्वसमेत बढ्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्रको सम्बन्ध राम्राे हुनुपर्ने बताए ।  दुवैको सफलता एकअर्कासँग जोडिएको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र राज्य आफ्नो साझेदारका रूपमा उभिएको विश्वास गर्न सक्नुपर्ने उनको भनाइ थियो। यस्तो विश्वास निर्माण नगरी ठूलो लगानी आउन र उद्योग विस्तार हुन नसक्ने उनले बताए।

‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्। भएका उद्योग विस्तार गर्नुहोस्। नयाँ उत्पादनमा प्रवेश गर्नुहोस्। नयाँ प्रविधि भित्र्याउनुहोस्। नयाँ रोजगारी सिर्जना गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ,’ उनले उद्योगी–व्यवसायीलाई आग्रह गरे।

अर्थमन्त्री वाग्लेले व्यवसाय विस्तारका क्रममा देखिएका मुख्य अवरोधबारे निजी क्षेत्रसँग स्पष्ट धारणा मागेका छन्। उनले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियामध्ये तत्काल सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न आग्रह गरे।

त्यस्तै, आगामी छ महिनाभित्र सरकारले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाँच निर्णयबारे समेत सुझाव दिन उनले निजी क्षेत्रलाई आग्रह गरे। ‘आजको बैठकमा म केवल सुझाव संकलन गर्न चाहन्नँ। म समाधानको कार्यसूची बनाउन चाहन्छु,’ उनले भने।

बैठकमा उठेका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने उनले बताए। यसका लागि अर्थ मन्त्रालयले ‘रेस्पोन्स डेस्क’मार्फत निरन्तर अनुगमन गर्ने र समस्या समाधान नभएसम्म निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने उनको भनाइ छ। अर्थमन्त्री वाग्लेले सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने बताए।

नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ताले सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यम गर्न प्रेरणा मिल्ने वातावरण निर्माण गर्न सरकार अघि बढिरहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?