वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुस्ताएको अर्थतन्त्रलाई रेमिट्यान्सको भरथेग, एक वर्षमा भित्रियो २३.६३ खर्ब रुपैयाँ

सुस्ताएको अर्थतन्त्रलाई रेमिट्यान्सको भरथेग, एक वर्षमा भित्रियो २३.६३ खर्ब रुपैयाँ
अर्थटुडे
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं । देशको आर्थिक गतिविधि सुस्ताएका बेला विदेशमा बस्ने नेपालीबाट भने उच्च रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्समा उच्च वृद्धिसँँगै मुलुकको अर्थतन्त्रका बाह्य क्षेत्रका सूचकहरु भने थप बलियो बनेको छ ।

निर्यातको तुलनामा आयात तीव्र गतिमा बढेर व्यापार घाटा फराकिलो बनेको छ । आन्तरिक आर्थिक गतिविधि नबढ्दा बैंक, वित्तीय संस्थामा तरलता थुप्रिएको छ । तर, रेमिट्यान्सका कारण देशको विदेशी मुद्रा सञ्चिति बढाउनुका साथै शोधनान्तर र चालु खातामा उल्लेख्य बचत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेर २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष रेमिट्यान्स १९.२ प्रतिशतले बढेर १७ खर्ब २३ अर्ब २७ करोड पुगेको थियो ।

यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले बढेर १६ अर्ब १९ करोड डलर पुगेको छ । अघिल्लो वर्ष डलरमा यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो । गत असार महिनामा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको असारमा रु १ खर्ब ८९ अर्ब ११ करोड भित्रिएको थियो ।

विदेश जाने नेपालीहरुको संख्या बृद्धि, डलरको मूल्य उच्च हुनुका साथै औपचारिक च्यानलबाट रेमिट्यान्स पठाउनेको संख्या बढ्दा रेमिट्यान्स आप्रवाह सकारात्मक बन्दै गएको छ ।

अर्थतन्त्रका बाह्य सूचकहरु थप बलियो
रेमिट्यान्स आप्रवाह उच्च हुँदा अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक थप बलियो भएका छन् । गत आवमा कुल विदेशी मुद्रा सञ्चिति ४५ दशमलव ६ प्रतिशतले बढेर ३८ खर्ब ९७ अर्ब ६७ करोड पुगेको छ । विदेशी मुद्रा सञ्चिती वृद्धिसँगै सरकारले चालु आर्थिक वर्षको बजेटमा यसको छुट्टै फण्ड बनाएर विकास, निर्माण आयोजनाहरुमा खर्च गर्ने योजना सार्वजनिक गरेको छ ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २९ दशमलव ८ प्रतिशतले बढेर २५ अर्ब ३१ करोड डलर पुगेको छ । अघिल्लो असारमा यस्तो सञ्चिति १९ अर्ब ५० करोड डलर थियो

हालको सञ्चितिले २३ महिनाको वस्तु आयात तथा १९ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी देशभित्र भित्रने र बाहिरिने मुद्राको अन्तर (शोधनान्तर स्थिती) १० खर्ब २७ अर्ब ४ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्ष शोधनान्तर स्थिति रु ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?