काठमाडौं। बाढीपहिरोबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि छिमेकी मुलुक भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाएका छन्। विपद्को खबर सार्वजनिक भएलगत्तै तीनै पक्षले नेपाल सरकारसँग समन्वय गर्दै आवश्यक सहयोगबारे चासो देखाएका हुन्।
विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक डेविड सिस्लेनले बिहीबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सम्पर्क गरी विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँ उपलब्ध गराउन सकिने जानकारी गराएका छन्।
दक्षिणी छिमेकी भारतले पनि बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री बिहीबार नै काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
उत्तरी छिमेकी चीनले पनि तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गरेका छन्।
छिमेकी मुलुक र दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले सहयोगको मोडालिटी र प्राथमिकताबारे अन्तरसरकारी समन्वयमा छलफल भइरहेको बताएका छन्।
सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेसँगै प्रभावित क्षेत्रमा घरेलु तथा बाह्य स्रोतबाट राहत, उद्धार र पुनर्निर्माणका लागि सहयोग परिचालन गर्ने बाटो खुलेको छ।
विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण संकलनसँगै तत्काल आवश्यक राहत सामग्री, नगद सहायता तथा पुनर्निर्माणका लागि आवश्यक स्रोतको प्राथमिकता निर्धारण गरी सहयोग परिचालन गर्ने तयारी सरकारको छ।
प्रतिक्रिया