वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तातोपानीको विकल्प रसुवागढी नाका एक दशक नपुग्दै संकटमा

तातोपानीको विकल्प रसुवागढी नाका एक दशक नपुग्दै संकटमा
अर्थटुडे
२०८३ भाद्र १५, सोमबार

काठमाडौं । चीनसँगको व्यापारका लागि नेपालले तातोपानी नाकाको विकल्पका रूपमा अघि बढाएको रसुवागढी–केरुङ नाका एक दशक नपुग्दै प्राकृतिक विपत्तिको चपेटाले अनिश्चित बनेको छ । गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपालतर्फ मात्रै होइन, चीनतर्फका समेत भन्सार तथा नाकासँग सम्बन्धित संरचनामा क्षति पु¥याएपछि यो नाका कहिलेदेखि पुनः सञ्चालनमा आउँछ भन्ने अनिश्चित बनेको हो । बाढीले नेपाल–चीन व्यापारको उक्त अन्तर्राष्ट्रिय नाका र सडक संरचना समेत ध्वस्त पारेकाे छ ।

२०७२ सालको भूकम्पपछि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी–खासा लामो समय प्रभावित भएपछि त्यसको विकल्पका रूपमा रसुवागढी नाकालाई अघि बढाइएको थियो । भूकम्पका कारण नेपाल र चीन दुवैतर्फ ठूलो क्षति पुगेको तातोपानी नाका त्यसयता पूर्ण रूपमा सहज अवस्थामा फर्किन सकेको छैन ।

तातोपानी नाका पूर्ण रूपमा सहज हुन नसकिरहेका बेला चीनसँगको व्यापारको अर्को प्रमुख प्रवेशद्वारका रूपमा विकसित भएको रसुवागढी पनि पछिल्लो बाढीले तहसनहस बनाएपछि नेपालको चीनसँगको स्थल व्यापार फेरि गम्भीर संकटमा परेको छ ।

एक वर्षमै दोस्रो ठूलो धक्का
रसुवागढी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएको यो पहिलोपटक भने होइन । करिब एक वर्षअघि भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेपछि पनि नाका करिब ६ महिना बन्द भएको थियो ।
एकपटकको विपत्तिबाट पूर्ण रूपमा पुनःस्थापित भएर नियमित सञ्चालनमा आउन नपाउँदै फेरि बाढीले भन्सार तथा पूर्वाधारमा क्षति पु¥याएपछि व्यवसायी तथा आयातकर्तामा थप अन्योल सिर्जना भएको छ ।
यसपटकको बाढीले नाकाका संरचना नै बगाएपछि सामान्य मर्मत गरेर तत्काल सञ्चालनमा ल्याउने अवस्था नरहेको देखिएको छ । नेपालतर्फको भन्सार संरचनासँगै चीनतर्फसमेत क्षति पुगेकाले नाका पुनः सञ्चालनका लागि दुवै देशले ठूलो पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको छ ।

४५ अर्बको व्यापार गर्ने नाका
रसुवागढी नाका पछिल्लो समय चीनसँगको व्यापारका लागि महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा यही नाकाबाट ४५ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात तथा ८९ करोड ४६ लाख रुपैयाँ बराबरको नियाएत भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको मालसामान रसुवागढी नाकाबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । कारोबारका आधारमा रसुवागढी देशको आठौं ठूलो भन्सार नाका हो ।

ठूलो परिमाणमा चिनियाँ सामान नेपाल भित्रिने भएकाले यो नाका लामो समय बन्द हुँदा त्यसको प्रत्यक्ष असर आयातकर्तादेखि बजारसम्म पर्ने देखिन्छ । नाका बन्द हुँदा चीनबाट आउने वस्तु तथा सामग्रीको आपूर्ति प्रभावित हुने मात्र होइन, केरुङ हुँदै नेपाल आउने मालवाहक कन्टेनर तथा सीमामा रोकिएका सामानको व्यवस्थापनसमेत चुनौतीपूर्ण देखिएको छ ।

२०७२ को भूकम्पपछि तातोपानी नाका प्रभावित भएपछि नेपालले चीनसँगको व्यापारलाई निरन्तरता दिन रसुवागढीलाई वैकल्पिक र प्रमुख नाकाका रूपमा विकास गरेको थियो । तर, लगातार प्राकृतिक विपत्तिको जोखिममा पर्दा चीनसँगको व्यापारका लागि नेपालले बनाएको वैकल्पिक संरचना नै कमजोर साबित हुन थालेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?