काठमाडौं । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण देश शोक र विपत्तिमा रहेका बेला आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ। आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार चालु आर्थिक वर्षदेखि प्रत्येक महिनाको पहिलो दिन र १६ गते गर्दै आएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रमअन्तर्गत १६ भदौमा हुने कार्यक्रम स्थगित गरिएको हो।
देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यनजर गर्दै यसपटकको पुरस्कार घोषणा कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको विभागले जनाएको छ। विभागका अनुसार १६ भदौमा घोषणा हुनुपर्ने विजेतासहित भदौ महिनाभरिका विजेताको घोषणा आगामी असोज १ गते एकैपटक गरिनेछ।
चालु आर्थिक वर्षदेखि आन्तरिक राजस्व विभागले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक महिनाको पहिलो दिन र १६ गते करदाता प्रोत्साहन पुरस्कार घोषणा गर्दै आएको छ।
प्रतिक्रिया