काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा विभिन्न देशका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन् ।
बेलायतको लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भइरहेको विश्व पर्यटन बजार (डब्ल्यूटीएम) २०२६ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, संयुक्त अरब इमिरेट्स (यूएई) का अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी र श्रीलंकाका सहायक पर्यटनमन्त्री प्रा. रुवन रणतुङ्गेसँग भेटवार्ता गरेका हुन् । उनले भारतकी राज्यसभा सदस्य एवं लेखिका सुधा मूर्तिसँग पनि अन्तरक्रिया गरेका छन् ।
भेटवार्तामा द्विपक्षीय पर्यटन सहकार्य, हवाई सम्पर्क विस्तार, पर्यटक आवागमन वृद्धि, सांस्कृतिक आदानप्रदान तथा पर्यटन क्षेत्रमा लगानी र निजी क्षेत्रबीचको साझेदारी विस्तारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री पौडेलले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक, आध्यात्मिक तथा वेलनेस पर्यटनमा लगानी र सहकार्यका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै नेपाललाई सुरक्षित र प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको बताए ।
डब्ल्यूटीएममा नेपालले दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रवर्द्धन गरेको छ । सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा अघि बढाउने तयारीअनुसार योग, ध्यान, आध्यात्मिकता र प्राकृतिक उपचारमा आधारित पर्यटनलाई समेत अन्तर्राष्ट्रिय बजारमा चिनाइएको छ ।
मन्त्री पौडेलले नेपाल प्याभिलियन उद्घाटन गरेका छन् । मेलामा नेपाल पर्यटन बोर्डसहित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी छन् । ३२ नेपाली पर्यटन कम्पनीले स्टलमार्फत नेपाली पर्यटकीय गन्तव्य, सेवा तथा उत्पादनको प्रवर्द्धन गरिरहेका छन् ।
यसैगरी, हालैका बाढीपहिरोबाट प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माण जारी रहे पनि काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण र सगरमाथालगायत प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटन गतिविधि सञ्चालन भइरहेको सन्देश नेपालले अन्तर्राष्ट्रिय बजारमा दिएको छ । ‘नेपाल इज ओपन’ अभियानमार्फत नेपाल भ्रमणले स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा निर्भर समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने सन्देशसमेत प्रवाह गरिएको छ ।
प्रतिक्रिया