वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट : २ लाख ५१ हजार लगानीकर्ताले पाए १० कित्ताका दरले सेयर

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट : २ लाख ५१ हजार लगानीकर्ताले पाए १० कित्ताका दरले सेयर
अर्थटुडे
२०८२ कार्तिक १२, बुधबार

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले थप सर्वसाधारणका लागि जारी गरेको साधारण सेयर (IPO) बाँडफाँट गरेको छ। बुधबार भएकाे बाँडफाँटमा २ लाख ५१ हजार ४९ जना भाग्यमानी लगानीकर्ताले न्यूनतम १० कित्ताका दरले सेयर पाएका छन्। पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गरेपछि बाँकी रहेको ३ कित्ता सेयर २० कित्तासम्म आवेदन दिएकामध्ये ३ जनालाई ११ कित्ताका दरले वितरण गरिएको कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे आइपीओमा १८ लाख ९८ हजार ३३३ जनाले कुल २ करोड ५ लाख ६८ हजार २१० कित्ता सेयर खरीद माग गर्दै आवेदन दिएका थिए । जसमध्ये २६ हजार ६३६ जनाको आवेदन विभिन्न कारणले रद्द भएको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ। रितपूर्वक आवेदन दिएका १८ लाख ६९ हजार ३३० जनाको आवेदन बाँडफाँटमा समावेश गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।

कम्पनीले असोज २६ गतेदेखि २९ गतेसम्म २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको थियो।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टै आइपीओ निष्कासन र बाँडफाँट गरिसकेको थियो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत ३२ लाख ६२ हजार ५०० कित्ता (जारी पूँजीको २० प्रतिशत) आइपीओमध्ये पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता स्थानीय बासिन्दाका लागि र ३ लाख ९ हजार ९३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको थियो।

त्यस्तै, कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई र १ लाख २३ हजार ९७५ कित्ता सेयर आफ्ना कर्मचारीहरूलाई बाँडफाँट गरेको छ।

श्रीनगर एग्रीटेकले कुखुराको चल्ला र अण्डा उत्पादनसँगै कुखुरा, माछा र बंगुरका लागि दाना उत्पादन गर्दै आएको छ। साथै, कम्पनीले कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउने र उनीहरूले उत्पादन गरेका सामग्री खरीद गरी बजारसम्म पुर्‍याउने कार्य गर्दै आएको छ।

कम्पनीको अधिकृत पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ भने संस्थापक तर्फ हाल चुक्ता पूँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँ छ। सर्वसाधारणमा सम्पूर्ण सेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी जारी पूँजी बराबर १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?