काठमाडौं । सोलु हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका छन् । कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको ८२ लाख कित्ता शेयरका लागि कुल ३ करोड १७ लाख ८ हजार ३९० कित्ताको माग परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ । यो माग निष्कासनभन्दा ३ दशमलव ८७ गुणा बढी हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिएको हो । यसका अतिरिक्त कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएको छ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल छन् ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलाको पानी उपयोग गरी ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी गत साउन २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ । आयोजनाको कुल निर्माण लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ छ । आयोजनाको विद्युत उत्पादन अनुमति २१०६ चैत ४ गतेसम्म बहाल रहनेछ ।
आर्थिक वर्ष ०८०/८१ सम्मको वित्तीय विवरण अनुसार कम्पनी १ करोड ५८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी २३ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २१ पैसा छ । त्यस्तै, गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी २ अर्ब ८३ करोड ५७ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३९ पैसा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४५ पैसा पुगेको छ ।
प्रतिक्रिया