काठमाडौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन सोमबार वेलुका ५ बजेसम्ममा ४७ जनाले आवेदन दिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । सोमबार सम्ममा धितोपत्र बोर्डका बहालवाला उच्च कर्मचारीदेखि पूर्व कर्मचारी, पूर्व मर्चेन्ट बैंकर तथा वित्तीय क्षेत्रमा अनुभव बटुलेका व्यक्तिहरुले आवेदन दिएका छन् ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य, पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारीले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छन् ।
त्यसैगरी, पँजीबजारमा सक्रिय पुरुषोतमराज चिमोरिया (शिव चन्द्र), पूर्व मर्चेन्ट बैंकर झवेन्द्र खत्री, पूर्व मर्चेन्ट बैंकर विनोद आचार्य, डा. गोपाल भट्ट लगायतले बोर्डको अध्यक्ष पदमा आवेदन दिएका हुन् ।
बोर्डको अध्यक्षको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै ७ दिन भित्र अर्थात् वैशाख २१ भित्र योग्य तथा इच्छुकहरुलाई आवेदन दिन भनेका थिए । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा उनीहरुले आवेदन दिएका छन् ।
यस अघि बोर्डको अध्यक्ष नियुक्तिको लागि आवेदन दिँदा व्यवसायिक कार्ययोजना पनि पेश गर्नु पथ्र्यो भने सर्टलिस्टमा परेकाहरुले त्यसको प्रस्तुतिकरण समेत गर्नु पर्ने व्यवस्था हुने गरेको थियो । यस पटक भने सिफारिस समितिले व्यक्तिगत विवरण र स्वघोषणा फारम मात्र बुझाउनका लागि भनेको छ ।
यस संगै सिफारिस समितिले प्राप्त आवेदनको आधारमा उम्मेदवारहरुमध्ये ३ जनालाई सिधै अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्ने संकेत गरेको छ ।
सन्तोष नारायण श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि नयाँ नियुक्ति हुन लागेको हो । नयाँ नियुक्त हुने अध्यक्षले श्रेष्ठको बाँकी कार्यकालको अवधिको लागि मात्र काम गर्न पाउने छ ।
प्रतिक्रिया