वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्रीले लगानीकर्ता भेटेकै दिन बजार ४२ अंकले चम्कियो

प्रधानमन्त्रीले लगानीकर्ता भेटेकै दिन बजार ४२ अंकले चम्कियो
अर्थटुडे
२०८३ श्रावण ४, सोमबार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजीबजारका सरोकारवालासँग छलफल गरेको दिन नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.०६ अंकले उकालो लागेको छ । बजारमा आएको यो सुधारलाई लगानीकर्ताले सरकारबाट पुँजीबजारप्रति सकारात्मक सन्देश प्रवाह भएको संकेतका रूपमा हेरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलमा लगानीकर्ताले पुँजीबजारको विकास, बजारको तरलता वृद्धि र लगानीकर्ताको मनोबल बढाउने उद्देश्यसहित प्राथमिक बजारदेखि बैंकिङ, नियामकीय व्यवस्था र कर प्रणालीसम्मका विषयमा दर्जनभन्दा बढी सुधारका सुझाव प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्।

लगानीकर्ता अम्बिका प्रसाद पौडेलका अनुसार योग्य संस्थागत लगानीकर्तालाई कुल निष्कासनको ४० प्रतिशत कोटा र ६ महिनाको लकइन अवधिसहित प्राथमिक निष्कासनमा बुक बिल्डिङ प्रणाली लागू गर्नुपर्ने, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन कायम गरी उचित मूल्य निर्धारण हुने प्राइस डिस्कभरी’ प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने लगायतका प्रस्ताव राखिएको छ ।

त्यसैगरी, कम्पनी सूचीकृत भएकै दिनदेखि कारोबार मूल्यमा सर्किट ब्रेकर लागू गर्ने, ’सर्ट सेल’ व्यवस्था कार्यान्वयन गर्ने तथा कर्मचारी, स्थानीयवासी, सामूहिक लगानी कोष, पीई÷भीसी तथा अन्य साना संस्थापक शेयरधनीले धारण गरेका कम्तीमा २० प्रतिशत शेयर सूचीकृत भएकै दिन कारोबारयोग्य बनाउने विषय पनि छलफलमा उठाइएको छ ।

नेपाल राष्ट्र बैंकसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थालाई आफ्नो प्राथमिक पुँजीको निश्चित सीमासम्म शेयर बजारमा लगानी गर्न दिनुपर्ने, शेयर धितो कर्जाको सीमा पुनरावलोकन गर्नुपर्ने तथा कुल कर्जाको निश्चित अनुपातसम्म शेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?