काठमाडौं । सम्पति शुद्धिकरणको मुद्दाका कारण कम्पनीका उच्च तहका नेतृत्व तानिएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको नेतृत्व फेरि परिवर्तन हुने भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष उदयकुमार निरौलाले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको भदौ २० गते सम्पन्न आठौँ सञ्चालक समिति बैठकबाट अध्यक्ष निरौलाले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । निरौलाले भदौ २९ गते दिएको राजीनामा भदौ ३० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जानकारी गराएको छ ।
सरकारको छानबिन प्रक्रिया अघि बढिरहेका बेला गत फागुन २५ गते तत्कालीन अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएका थिए । त्यसपछि चैतमा कम्पनीले निराैलालाइ अध्यक्ष बनाएकाे हाे । अध्यक्षले कार्यकाल पूरा नहुँदै राजीनामा दिएपछि हिमालयन रिइन्स्योरेन्समा नेतृत्व फेरि अस्थिर बनेको छ । पुनर्बीमा व्यवसायमा ठूलो लगानी र विस्तारको चरणमा रहेको कम्पनीमा उच्च तहको नेतृत्व परिवर्तनले आगामी रणनीति तथा व्यवस्थापनमा समेत प्रभाव पार्न सक्ने देखिन्छ ।
संस्थापक शेयरधनीमाथि तथा उच्च व्यवस्थापनमाथी सम्पत्ति शुद्धीकरणका साथै बैंकिङ, बीमा तथा धितोपत्र कसुरमा मुद्दा दायर भएसँगै कम्पनी अप्ठेरोमा परेको छ । सरकारले छानविन अघि बढाएपछि सञ्चालक समिति र उच्च व्यवस्थापनमा देखिएको अस्थिरता अझै रोकिएको छैन । पछिल्लो केही महिनायता कम्पनीका सञ्चालकदेखि प्रमुख व्यवस्थापकीय पदसम्म निरन्तर फेरबदल भइरहँदा संस्थागत स्थायित्वमै प्रश्न उठ्न थालेको छ ।
प्रतिक्रिया