काठमाडौं । धादिङको कृष्णभिरमा गएको पहिरोले काठमाडौं जोड्ने मुख्य राजमार्ग मात्रै अवरुद्ध गरेको छैन, राजधानीको खाना पकाउने ग्यासको वर्षौंदेखिको आपूर्ति प्रणाली नै उल्टाइदिएको छ । उद्योगबाट बुलेटमा ग्यास ल्याएर सिलिन्डर भर्ने र त्यहीँबाट डिलरमार्फत उपभोक्तासम्म पु¥याउने नियमित चक्र भत्किएपछि अहिले ग्यास बिक्रेता नै खाली सिलिन्डर बोकेर उद्योग धाउनुपर्ने अवस्थामा पुगेका छन् ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ठूला ग्यास बुलेट काठमाडौं प्रवेश गर्न नसक्दा उपत्यकाका उद्योगमा नियमित रूपमा ग्यास पुग्न सकेको छैन । त्यसको विकल्पमा नेपाल आयल निगमले काठमाडौं, धादिङ र काभ्रेका उद्योगका खाली सिलिन्डर उपत्यकाबाहिरका उद्योगमा लगेर रिफिल गर्ने र वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरेको छ ।
निगमले ल्याएको नयाँ नियमको प्रत्यक्ष असर उद्योग–डिलर–उपभोक्ताबीचको सामान्य आपूर्ति चक्रमा परेको छ । कतिपय अवस्थामा उद्योगले नै बिक्रेतालाई खाली सिलिन्डर लिएर बाहिरी जिल्लाका प्लान्टमा पुग्न भनेका छन् । हेटौंडा, चितवन, नवलपरासी, बारा, पर्सालगायतका उद्योगमा काठमाडौंका विभिन्न ब्रान्डका सिलिन्डर रिफिल गर्न थालिएको छ ।
यसले ग्यास आपूर्तिको लागत र व्यवस्थापन दुवै बढाएको छ । पहिले बुलेटमार्फत उद्योगसम्म ग्यास आएपछि त्यहीँबाट डिलर र उपभोक्तासम्म पुग्ने प्रणाली थियो । अहिले भने खाली सिलिन्डर काठमाडौं बाहिर लैजाने, ग्यास भर्ने र फेरि वैकल्पिक सडकबाट काठमाडौं फर्काउने दोहोरो ढुवानी गर्नुपर्ने भएको छ । उपत्यकाका साना किराना पसल तथा खुद्रा ग्यास बिक्रेताहरू उपभोक्ताबाट खाली सिलिन्डर संकलन गरी आफैं उद्योगसम्म धाउन थालेका छन् ।
सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ३५ देखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्छ । तर मुख्य सडक अवरुद्ध भएपछि आपूर्ति प्रणालीमा आएको अवरोधले बजारमा अभावको मनोविज्ञान सिर्जना भएको छ । निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म मात्रै वैकल्पिक मार्गबाट ८७ हजार ८७७ सिलिन्डर काठमाडौं भित्रिएका छन् ।
सडक नियमित सञ्चालनमा नआएसम्म बाहिरी जिल्लाका उद्योगमा रिफिल गरेर वैकल्पिक मार्गबाट ग्यास ल्याउने व्यवस्था जारी रहने निगमले जनाएको छ ।
मूल्यमा पनि मनपरी
आपूर्ति प्रणाली प्रभावित भएपछि बजारमा ग्यासको मूल्यसमेत असमान हुन थालेको छ । ढुवानी लागत बढेको भन्दै कतिपय बिक्रेताले उपभोक्ताबाट अतिरिक्त रकम असुल्न थालेका छन् । उद्योगबाट बिक्रेतासम्म ग्यास पु¥याउने सामान्य प्रणाली अवरुद्ध हुँदा खुद्रा बिक्रेताको लागत बढेको छ । कतिपय साना बिक्रेता आफैं सवारी भाडामा लिएर उद्योगसम्म पुग्नुपर्ने भएपछि त्यसको भार अन्ततः उपभोक्तामाथि पर्न थालेको व्यवसायीहरूको भनाइ छ ।
यसले अभावसँगै मूल्यमा समेत अनिश्चितता बढाएको छ । उपभोक्ताका अनुसार बजारमा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ५ सय देखि माथी रहेको छ ।
प्रतिक्रिया