वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएलमा डेढ अर्ब बराबरको कारोबार हुने

एनपीएलमा डेढ अर्ब बराबरको कारोबार हुने
अर्थटुडे
२०८३ कार्तिक १०, सोमबार

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डेढ अर्ब रुपैयाँ बराबरको कारोबार हुने देखिएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले गरेको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो ।

संघका कोषाध्यक्ष पदम खड्काले क्यानले यस सिजनमा करिव ७० देखि ७५ करोड रुपैयाँको कारोबार गर्ने र सोही रकम बराबरमा नै फ्रेन्चाइज टोलीका मालिकहरूको पनि खर्च हुने भएकोले करिव डेढ अर्ब रुपैयाँ बराबरको कारोबार हुने देखिएको बताए ।

उनले भने, ‘एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट क्यानले उक्त परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको छ ।’ ‘प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिव २० करोड रुपैयाँ प्राप्त हुने अनुमान क्यानले गरेको छ । ’ खड्काले भने ‘टिकटिङलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपीएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने देखिएको छ ।’

फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताए । यसअनुसार एनपीएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिव डेढ अर्ब रुपैयाँ पुग्ने देखिएको छ ।

खड्काले एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिए । उनकाअनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन् भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको उल्लेख गर्दै उनले यसपटक एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको बताए ।

क्यानको नेतृत्वले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउने र संस्थाको कार्यकाललाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ । एनपीएलको पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको उनले बताए ।

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पु–याउने अपेक्षा क्यानले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?