काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो त्रैमास (साउन-असाेज) सम्ममा नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३१.१३ प्रतिशतले बढी हो ।
बैंकले गत आव को पहिलो त्रैमासमा ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद नाफा ५९ करोड ६५ लाख रुपैयाँले बढेको हो ।
बैंकको वित्तीय विवरणअनुसार नाफा बढ्नुमा खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानीमा भएको सुधार मुख्य आधार देखिएका छन् । यसैगरी बैंकले कर्जालगायतका जोखिम व्यवस्थाका लागि छुट्याएको रकम घट्दा पनि नाफामा उल्लेख्य सुधार भएको हो ।
बैंकले गत आवको पहिलो त्रैमाससम्ममा ९५ करोड ६७ लाख रुपैयाँ घटेर चालु आवको यस अवधिमा ३३ करोड रुपैयाँमा झरेको छ ।
चालु आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ थियो । यस अवधिमा खुद ब्याज आम्दानी करिब ९.४ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा १ अर्ब ७४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ६५ करोड ७५ लाख रुपैयाँ थियो ।
बैंकको सेवाशुल्कमार्फत ४४ करोड ७८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको यस्तो आम्दानी ३० करोड ४९ लाख थियो ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २९ रुपैयाँ १७ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ रुपैयाँ १५ पैसा थियो ।
बैंकको कुल निक्षेप ७ खर्ब ५४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कर्जा तथा सापटी लगानी करिब ५ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ । बैंकको कुल सम्पत्ति ७ खर्ब ९७ अर्ब रुपैयाँभन्दा बढी पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
त्यस्तै, बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात २.८६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ३.९१ प्रतिशत थियो । यसले बैंकको खराब कर्जाको अनुपातमा सुधार आएको देखाउँछ ।
प्रतिक्रिया