काठमाडौं । वित्तिय प्रणालीमा लगानीयोग्य रकम (लिक्वीडिटी क्रन्च) भएपछि त्यसको असर पुँजीबजारमा गम्भीर रुपमा परेको छ । बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रबाह गर्न नसक्दा लगानीकर्ताहरु दवावमा परेपछि सेयर बजार ओरालो लागेको हो ।
बुधबार र मंगलबार दुईदिनमा नै बजार ६१ अंकले ओरालो लागेको छ । बजारमा तरलता अभाव हुदा बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रबाह गर्न रोकेका छन् भने पहिलेकै कर्जामा पनि व्याज बढाइरहेका छन् । जसले गर्दा लगानीकर्ताहरु अहिले आफूसँग भएको सेयर बेचेर आफू सुरक्षित हुन लागिरहेका छन् ।
सेयर बजारमा आपुर्ति बढेको समयमा वित्तिय प्रणालीमा समस्या देखिदा धितोपत्र बजारलाई प्रत्यक्ष असर परेको छ । बैंक वित्तिय संस्थाबाट कर्जा पाउन छाडेपछि कर्जामा लगानी गर्ने सेयर लगानीकर्तालाई धितोपत्र बजारको लगानी घातक हुदै आएको छ । सेयर बजार परिसुचकसँगै कारोबार रकममा पनि आएको गिरावटले सेयर बजार तत्काल नफर्कने संकेत गरेको बुझिन्छ ।
वित्तिय प्रणालीको व्याजदर र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ । व्याजदर बढेको अवस्थामा सेयर बजार घट्दो क्रममा जान्छ । तर व्याजदर बढेको भएपनि कर्जा नै नपाउने अवस्था आए पनि सेयर लगानीकर्तालाई पुरानो कर्जाको लागि पनि सेयर विक्रि गर्नुपर्ने बाध्यता छ । सेयर आपुर्ति बढ्दा र सेयर विक्रि गर्ने लगानीकर्ताहरु बढ्दा पनि बजार ह्वात्तै ओरालो लागेको हो ।
नेपाल राष्ट्र बैंकले सेयर कर्जामा बृद्धि भएकोले सेयर कर्जा कम गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई भनेको छ । उत्पादनमूलक क्षेत्रमा जानुपर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्फ उन्मुख हुदा समस्या आउनसक्ने भन्दै राष्ट्र बैंकले सतर्क हुन सुझाव दिएको हो ।
सेयर बजारमा बचत परिचालन गर्ने भन्दा पनि कर्जामार्फत लगानी गर्ने धेरै भएको हुनाले अहिले बजार नकारात्मक भएको हो ।
प्रतिक्रिया