वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमसीसी कार्यक्रम बन्द, नेपालका परियोजनाहरू अन्योलमा

एमसीसी कार्यक्रम बन्द, नेपालका परियोजनाहरू अन्योलमा
अर्थटुडे
२०८२ बैशाख ११, बिहीबार

काठमाडौं । अमेरिकी सरकारको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । यसअघि ९० दिनका लागि मात्र परियोजना स्थगित गरिएको बताइएको थियो ।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बुधबार एमसीसी अनुदान सहयोग बन्द गर्ने विषयमा छलफल भएको छ । एलन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ ले गरिबी न्यूनीकरण र विश्वव्यापी आर्थिक विकास प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुशले स्थापना गरेको अमेरिकी सहायता संस्थाको कार्यक्रम अन्त्य गर्ने निर्णय गरिएको बताइएको छ ।

आन्तरिक बैठकमा एमसीसीका कर्मचारीहरूलाई सबै कार्यक्रमहरू बन्द गरिने र कर्मचारी संख्या घटाइने जानकारी दिइएको छ । “विदेशी सहायता हाम्रो प्रशासनको प्राथमिकतामा पर्दैन, त्यसैले एमसीसी को कार्यक्रम बन्द गर्नुपर्छ,“ वरिष्ठ एमसीसी अधिकारी क्येह किमले बैठकमा जोड दिएकी समाचारमा दावी गरिएको छ ।

एमसीसी परियोजना बन्द हुने भएसँगै नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने भएको छ । एमसीसी परियोजना अन्तर्गत नेपालमा सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम अघि बढाइएको थियो । तर, उक्त उक्त परियोजनाहरु अलपत्र हुने भएको छ ।

यसअघि फेब्रुअरी २४ मा एमसीसीले नेपाललाई विद्युत् र सडक पूर्वाधारका लागि घोषणा गरिएको अनुदान अस्थायी रूपमा स्थगित गरेको नेपाललाई जानकारी गराएको थियो । अर्थ मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा जारी गरेको कार्यकारी आदेशअन्तर्गत ९० दिन वैदेशिक सहयोग रोक्का गर्ने निर्णयअन्तर्गत नेपाल कम्प्याक्टका लागि भुक्तानी रोकिएको जानकारी गराएको थियो ।

एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले ५५ करोड अमेरिकी डलर अनुदान दिने प्रतिबद्धता व्यक्त गरेकोे थियो । ती परियोजनामा नेपाल सरकारले १९ करोड ७० लाख अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको छ ।

सन् २०१७ मा नेपाल र अमेरिकाले हस्ताक्षर गरेको एमसीसी कम्प्याक्टलाई नेपालको प्रतिनिधिसभाले सन् २०२२ मा अनुमोदन गरेको थियो । सम्झौताको शर्तअनुसार परियोजना कार्यान्वयन शुरू भएको ५ वर्षभित्र एमसीसीअन्तर्गतका आयोजना सम्पन्न नभए त्यसअन्तर्गत प्रतिबद्धता जनाइएको बाँकी रकम आउन बन्द हुन्छ र बचेको सहायता रकम फिर्ता जान्छ । तसर्थ नेपाललाई यसअन्तर्गत रहेका आयोजनाहरू सन् २०२८ को अगस्तभित्र पूरा गर्नुपर्ने समय सीमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?