काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धी नियामकीय मापदण्ड, २०८२“ का केही प्रावधानहरू संशोधनका लागि बहस, समन्वय र पैरवीका लागि राष्ट्रिय सहकारी महासंघले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
सोमबार महासंघमा भएको भेलालले महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा कार्यदल बनाएको हो । ११ सदस्यीय कार्यदलमा महासंघका उपाध्यक्ष डिबी बस्नेत, सञ्चालक परितोष पौडेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटा रहेका छन् ।
त्यसैगरी, कार्यदलमा ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लाका बचत तथा ऋण सहकारी संघ अध्यक्षहरू क्रमशः रामहरि बजगाई, दीपक पनेरु, कृष्णगोविन्द लाखाजु, उदयराम कायस्थ र कल्पना श्रेष्ठलाई पनि सदस्यमा तोकिएको छ । कार्यदलको सदस्य–सचिवको भूमिकामा भने महासंघका महाप्रबन्धक सुरेश थापा छन् ।
कार्यदल गठन गर्नुअघि मापदण्डले सहकारी क्षेत्रमा पारेको असरहरुको बारेमा छलफल भएको थियो । छलफलमा बोल्दै महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीको समस्या समाधानको लागि नेतृत्व लिन महासंघ तयार रहेको बताइन् ।
प्रतिक्रिया