काठमाडौं । सहकारी क्षेत्रमा जसले बढी कानुन उल्लंघन गर्न र नियामक निकायका निर्देशनलाई चूनौती दिन सक्छ, उही शक्तिशाली मानिन्छ । यस्तै शक्तिशाली सहकारी नेताको रुपमा दरिएका छन् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक खेमराज सुवेदी ।
सुवेदी संघिय सहकारी विभागको आडैमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष हुन् । सहकारी ऐन २०७४ ले सञ्चालक कार्यकारी भूमिकामा बस्न नपाउने भएपनि उनी कानुन मिचेरै कार्यकारी अध्यक्षको रुपमा संस्थाबाट मासिक एक लाख रुपैयाँ हाराहारीमा सेवा सुविधा लिदै आएका छन् ।
संस्थाको कार्यकारी भूमिकामा रहेकै बेला नेफ्स्कूनको विनियम विपरित सञ्चालक बनेका सुवेदी विभागको निर्देशनलाई अटेर गर्दै, सहकारी ऐनको प्रावधानलाई खिल्ली उडाउँदै भदौ ६ गते पुन अध्यक्ष बनेका छन् । नियामक निकायको आडैमा कानुन विपरित गतिविधि भइरहँदा पनि विभागले कुनै कारवाही गर्न सकेको छैन ।

भदौ ६ गते शुक्रबार सम्पन्न साधारणसभाबाट निर्वाचित सहयात्री बचत तथा ऋण सहकारीको सञ्चालक समिति (अध्यक्ष सुवेदी ढाकाटोपीमा)
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले साधारणसभाको मुखैमा २०८० मंसिर ८ गते सहकारी विभागमा सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ मा उल्लेख दोहोरो पदको विषय ब्याख्या गरिदिन भन्दै संघिय सहकारी विभागमा पत्र पठाए । उक्त पत्रको जवाफ लेख्दै मंसिर २० गते विभागले एक व्यक्ति एक समयमा एउटा मात्र संस्था वा संघको संचालक हुन सक्ने स्पष्ट पारेको थियो ।
विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको शपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने ब्यहोरा आदेशअनुसार अनुरोध छ ।’
नेफ्स्कूनको संचालकमा निर्वाचित भएपछि सुवेदी गैरकानुनी रुपमा संस्थाको कार्यकारी भूमिकामा समेत सक्रिय रहेका थिए ।

संस्थाको २० औं वार्षिक प्रतिवेदनमा उल्लेख सेवा सुविधा ।
दोहोरो पदकै प्रावधान कार्यान्वयन गर्न २०८१ असार १९ गते तत्कालिन रजिष्ट्रार पिताम्बर घिमिरे निर्देशन जारी गर्दै एक महिनाभित्र दोहोरो पदको प्रावधान कार्यान्वयन गर्न र अटेर गरेमा कानुन अनुसार कारवाहीको चेतावनी समेत दिएका थिए । यसैबेला राष्ट्रिय सहकारी महासंघको दवावपछि साउन २४ गते अर्को निर्देशन जारी गर्दै दोहोरो पदको प्रावधान कार्यान्वयका लागि पुस मसान्तसम्मको समय दिए ।
कार्यकाल हस्तान्तरणका लागि साधारणसभा आवश्यक पर्ने र त्यसका लागि विभागले समयसीमा थप गरेको बताएको थियो । तर, सहकारीका नेताहरु नै यसको उल्लंघन गर्दा समेत विभागले कुनै कारवाही गर्न सकेको छैन ।
पछिल्लो समय दोहोरो पदको विषयमा सञ्चारमाध्यममा समाचार आएपछि भने विभागले नेफ्स्कून र सहकारी बैंकलाई पत्र काटेको छ ।
सत्ताको संरक्षण
सुवेदी सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको सहकारी तथा गरिवी निवारण विभागका सदस्य हुन् । यसअघि सहकारी मन्त्री पद्मा कुमारी अर्यालका लागि सहकारीबाट चन्दा उठाउन नेतृत्व गर्दै पार्टीमा बलियो सम्बन्ध बनाएका उनी यतिबेला विभागिय प्रमुख खगराज अधिकारी र सचिव परितोष पौड्याल निकट मानिन्छन् ।
अहिले नेफ्स्कूनभित्र पनि अधिकारी र पौड्यालको पावर देखाउँदै सुवेदीको हालीमुहाली रहेको स्रोतले बताएको छ । ‘ऋण लगानी होस् या धितो लिलामी गर्न सुवेदी सरलाई नसोधी केही काम हुदैन ।’
यतिबेला संघभित्र सुवेदीलाई परितोष पौड्यालले गरेको बदमासीलाई चोख्याउने भूमिका दिइएको छ । संघले गरेका कर्जा लगानीको छानविनका लागि भन्दै सुवेदीको अध्यक्षतामा समिति गठन गरेपछि उनी अवस्था बुझ्न भन्दै उनी देश दौडाहा गरीरहेका छन् ।
सञ्चालकहरुको दोहोरो पदबारे विभागद्धारा बैंक र नेफ्स्कूनसँग स्पष्टिकरण
नेफ्स्कूनमा ‘आफैं धामी, आफैं बोक्सी’ प्रवृत्ती : आफैले दिएको कर्जा छानविन गर्न संचालकहरुको समिति
सहकारीमा ऐन विपरित दोहोरो पद कायमै, आफ्नै निर्देशन कार्यान्वयन गर्न विभाग असफल
प्रतिक्रिया