काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा उनीहरुविरुद्ध आयोगले मुद्धा दायर गरेको हो ।
तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबिच भूमी आयोग कास्कीका प्रमुख नियुक्तिमा समेत लेनदेन भएको अडियो सार्वजनिक भएको थियो । सोही अडियो रेकर्डको आधारमा आयोगले थप अनुसन्धान गरेको थियो ।
आयोगका अनुसार पोखरा महानगरपालिका–२६ लेखनाथमा रहेको सामूदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमी आयोगले नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको हो ।
अख्तियारले भूमि आयोग कास्कीका सदस्य समेत रहेका कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, अरु सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपालीमाथि मुद्दा चलाएको हो । जग्गा पाउने भीमबहादुर विकलाई पनि अख्तियारले मुद्दा चलाएको छ ।
प्रतिक्रिया