वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२५ अर्ब ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२५ अर्ब ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
अर्थटुडे
२०८२ पुष २८, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैकिङ्ग क्षेत्रमा अत्यधिक तरलता बढेपछि दुई सातायता लगातार ऋणपत्र जारी गरिरहेको केन्द्रीय बैंकले यसअघि १ खर्ब ३० अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ ।

निक्षेप संकलन र स्थायी निक्षेप सुविधा उपकरणबाट मात्र बजारमा अधिक तरलताको समस्या समाधान नभएपछि केन्द्रीय बैंकले पुस पहिलो साताबाट ऋणपत्रबाट समेत रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २ खर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने निर्णय गरी हालसम्म १ खर्ब ३० अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ ।

कोभिड–१९ को महामारीलगत्तै बैंक, वित्तीय संस्थाहरुले आक्रामक कर्जा प्रवाह गर्दा २ वर्षअघि बजारमा तरलताको अभाव देखिएको थियो । त्यसपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीतिमार्फत कडाइ गरेपछि कर्जा प्रवाह सुस्त भई अधिक तरलता देखिदै आएको छ ।

चालु आवको मौद्रिक नीतिबाट भने राष्ट्र बैंक लचिलो भएपनि कर्जा विस्तार हुन सकेको छैन । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत ओभरड्राफ्ट, घरकर्जालगायतमा लचिलो भएपनि कर्जा विस्तार सुस्त छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को चार महिना (साउन–कात्तिक) सम्ममा बैंक, वित्तीय संस्थाहरूको निक्षेप ३ दशमलव १ प्रतिशत अर्थात २ खर्ब २२ अर्ब ३८ करोडले वृद्धि हुँदा कर्जा प्रवाह भने १ दशमलव २ प्रतिशत अर्थात ६५ अर्ब ४ करोडले मात्र बढेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?